गाँजा खेति गर्ने व्यक्तिलाई तिन महिना कैद वा तिन हजारसम्म जरिवाना

 

लक्ष्मी न्यौपाने

लागु औषध कारोबार तथा सेवन गर्नेहरुको संख्या जुम्लामा बढ्दो क्रममा रहेको छ । तिन आर्थिक वर्षको तथ्याङ्क हेर्दा जुम्लामा सेवन कर्ता तथा कारोबार गर्नेको संख्या बढेको देखिन्छ । विगत दुई आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा दोब्बरले लागु औषध सेवन तथा विक्रि गर्नेको संख्या बढेको देखिन्छ ।

आर्थिक वर्ष २०७७।०७८ मा ५ र २०७८।०७९ मा ७ वटा मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७९।०८० मा १२ वटा मुद्दा दर्ता भएका छन् । विगत दुई आर्थिक वर्षको तथ्याङ्कलाई तुलना गर्दा गत आर्थिक वर्षमा उक्त संख्या दोब्बरले बढेको छ । आर्थिक वर्ष २०७७।०७८ मा जिल्ला प्रहरी कार्यालय जुम्लाले लागु औषधका ५ वटा मुद्दा दर्ता गरेको छ ।

पाँचवटा मुद्दा मध्ये ब्राउन सुगरका ४ र १ वटा चरेशको मुद्दा दर्ता भएको सूचना अधिकारी यामवहादुर बुढामगरले जानकारी गराउनु भयो । ६८० मिलि ग्राम ब्राउन सुगर र १०४ ग्राम चरेश बरामद भएको उहाँको भनाइ छ । २ जना महिला र २ जना पुरुष अहिले पनि फरार अवस्थामा रहेको बुढामगरले जानकारी गराउनु भयो ।

लागु औषध सेवन तथा कारोबार गर्ने १८ देखि ४० वर्ष उमेर समूहका बढी रहेका छन् । १८ वर्ष मुनिका १ जना र बाँकि १५ जना १८ देखि ४० वर्ष उमेर समूहका रहेको उहाँको भनाइ छ । सूचना अधिकारी बुढामगरका अनुसार, आर्थिक वर्ष २०७८।०७९ मा ७ वटा मुद्दा दर्ता भएको बताउनु भयो ।

उक्त मुद्दामा १८ वर्ष मुनिका २ जना र १८ देखि ४० वर्ष सम्मका १२ जना रहेको उहाँले जानकारी गराउनु भयो । चरेश ७६।६२० ग्राम, ब्राउन सुगर १०५ मिलिग्राम र ट्रमाडोल र कोलोनोजेपाम २४१ पिस बरामद भएको उहाँको भनाइ छ । यसैगरी आर्थिक वर्ष २०७८।०७९ मा १२ वटा मुद्दा दर्ता भएको बुढामगरले जानकारी गराउनु भयो ।

१२ वटा मुद्दाका ३० जना मध्ये महिला १ जना बाँकि सबै पुरुष रहेको बताउँदै उहाँले भन्नुभयो, ७ जना फरार रहेका छन् । ३० जना मध्येबाट चरेश २ ग्राम १९० मिलिग्राम, ब्राउन सुगर १३ ग्राम ९३ मिलिग्राम, गाँजा १५ ग्राम ८२ मिलि ग्राम र नाईट्राभेट ट्याब्लेट ३४ वटा बरामद भएको उहाँको भनाइ छ । हालसम्म लागु औषधको मुद्दामा एक जना मात्रै दोहोरिएको सूचना अधिकारी बुढामगरले जानकारी गराउनु भयो ।

उहाँका अनुसार पछिलो समयमा ट्रमाडोल नामक ट्याब्लेट प्रयोग गर्नेको संख्या बढी रहेको बताउनु भयो । भारतको रुपडिया नाकाबाट सहजै उक्त ट्याब्लेट आउने भएकाले नेपाली बजारमा रहेको मेडिकहरुबाट किनेर सेवन गर्नेको संख्या बढी रहेको उहाँको भनाइ छ । जुम्लामा पनि यो ट्याब्लेट प्रयोग गर्नेहरुको संख्या बढ्दो अवस्थामा रहेको बुढामगरले जानकारी गराउनु भयो ।

ट्रमाडोल ट्याब्लेटको प्रयोगले स्वास्थ्यमा पर्ने असर

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका एनेस्थोलोजिष्ट एवं सघन उपचार इस्पेलिष्ट डाक्टर नविन थापाका अनुसार, ट्रमाडोल ट्याब्लेटको प्रयोग शरीर बेसरी दुखेमा दुखाई कम गर्नको लागि प्रयोग गर्न मिल्ने बताउनु भयो । उहाँले भन्नुभयो, डाक्टरको सिफारिस बिना कसैले पनि प्रयोग गर्न मिल्दैन् । यसको सेवनले आराम जस्तो महसुस गराउँछ उहाँले भन्नुभयो, बढी सेवन भएमा होस हराउने र अचेत बनाउने काम गर्छ । यसको बढी सेवनले मृगौलामा समस्या गराउने डाक्टर थापाको भनाइ छ ।

यसलाई लागु औषधका रुपमा प्रयोग गर्ने गरिएको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, कुनै पनि औषधि डाक्टरको सल्लाह र सिफारिस बिना प्रयोग गर्न र बेच्न मिल्दैन् । यदि कसैले विक्रि गरि सेवन कर्ताको स्वास्थ्यमा असर भएमा स्वयम विक्रेता जिम्मेवार हुनु पर्ने उहाँको भनाइ छ ।

कानुनी व्यवस्था

लागु औषध नियन्त्रण ऐन, २०३३ को परिच्छेद ३ मा भएको व्यवस्था अनुसार गाँजा सेवन गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा दुई हजारसम्म जरिवानाको व्यवस्था गरेको छ । पच्ची वटा बोटसम्म गाँजा खेति गर्ने व्यक्तिलाई तिन महिना कैद वा तिन हजारसम्म जरिवाना र पच्चीस बोट भन्दा बढी गाँजा खेति गर्ने व्यक्तिलाई तिनवर्षसम्म कैद वा पाँच हजार देखि पच्चीस हजार सम्म जरिवाना हुने उल्लेख गरेको छ ।

यस्तै बारम्बार अपराध गर्नेलाई थप सजाय हुने पनि उक्त ऐनमा व्यवस्था गरेको छ । एक पटक सजाय पाई सकेको व्यक्तिले पुन अपराध गरेमा थप पाँचवर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने लेखिएको छ ।

सम्बन्धित शीर्षक