पहिरो रोक्न रुख रोप्दै स्थानीय

लक्ष्मी न्यौपाने,जुम्ला ।
जुम्लाको तिला गाउँपालिकामा पहिरोबाट जोगिन बृक्षारोपण गरिएको छ । तिला गाउँपालिका ६ रिपी घट्टेकुलो र तिला ९ मालापानीको विद्युत नहर आसपासमा बृक्षारोपण गरिएको हो । स्थानीयले घट्टे कुलो र जलविद्युतको नहरमा बर्षेनी पहिरो जाने भएकोले समस्या भोग्दै आएका थिए ।
किडार्क नेपालका सामाजिक सहजकर्ता मीना बुढाका अनुसार विभिन्न जातका ८ सय विरुवा रोपिएको हो । वल्र्डभिजन इन्टरनेश्नल नेपाल,बन डिभिजन कार्यालय जुम्लाको सहयोग र किडांक नेपाल द्वारा संचालित एकीकृत पोषण साथ उत्थानशिल जिविकोपार्जन परियोजना अन्र्तगत बृक्षारोपण गरिएको उनले बताइन् ।
गत असोज १९ देखि २५ गते सम्म परेको अविरल बर्षाले पहिरो गएपछि महिनौं सम्म घट्ट चलेको थिएन । भने बिजुली समेत अवरुद्ध भएको थियो । बृक्षारोपण गरेर पहिरोको जोखिमबाट बच्ने उपाय अवलम्बन गरिएको छ,सहजकर्ता बुढाले भनिन्,‘बृक्षारोपणमा स्थानीय नागरिकको उत्साह लोभलाग्दो नै देखिएको छ । अब विरुवा बचाएर नहर र घट्टे कुलो बचाउने संकल्प समेत उनीहरुले गरेका छन । ’
बृक्षारोपणमा समुदाय,सामुदायिक वन उपभोक्ता समिति,कृषि उत्पादक समुह, बालक्लव, विद्यालय व्यवस्थापन समिति, शिक्षक समुहहरु, विभिन्न योजना निर्माण समिति, जन प्रतिनिधहरु र किडांक नेपालका कर्मचारीहरु सहित ६५ जनाको सहभागिता थियो ।
बुढाका अनुसार गल्ले आरु १००, पिपल २०० किमु २०० धुपी ५०२ र देवद्यारका ५० विरुवा गरेर जम्मा ८०० वटा विरुवाहरु रोपिएको थियो । पहिरो जान सक्ने अति जोखिमपूर्ण स्थानहरुको पहिचान गरेर सो क्षेत्रको संरक्षण र व्यवस्थापनका लागि कार्ययोजना निर्माण भइसकेको छ । त्यही कार्ययोजना अनुसार बृक्षारोपण गरिएको थियो ।
बृक्षारोपणले मात्र पहिरो रोकथाम गर्न सकिन्छ भन्नेमा स्थानीय विश्वस्त रहेको किडार्क नेपालका जीविकोपार्जन अधिकृत पुङ्केश्वर भामले जानकारी दिए । उनका अनुसार सामुदायिक बन उपभोक्ता समिति र कृषि उत्पादक समुहले आगामी फागुन महिनामा अन्य जोखिमपुर्ण क्षेत्रमा बृक्षारोपण गर्ने प्रतिबद्धता जनाइसकेका छन ।
प्राकृतिक स्रोत व्यवस्थापन र भु–क्षय न्युनिकरण गर्ने उद्वेश्यका साथ बृक्षारोपण गरिएको जिविकोपार्जन अधिकृत भामको भनाइछ । .

सम्बन्धित शीर्षक