पालिकाले परिक्षामा टाउको गनेका विद्यार्थीलाई पाठ्यपुस्तक रुपैयाँ दिने

लक्ष्मी न्यौपाने,जुम्ला
जुम्लाको तातोपानी गाउँपालिकाको दुर्गा माबि लाम्राले पालिकाले परिक्षामा टाउको गनेका विद्यार्थीहरुलाई मात्र पाठ्यपुस्तकको रुपैयाँ उपलब्ध गराउने भएको छ । बुधबार दुर्गा मावि लाम्रामा भएको सर्वपक्षीय छलफलमा बिचैमा पढाइ छाड्ने विद्यार्थीलाई पाठ्यपुस्तकको रकम दिन नसकिनेमा जोड दिइएको थियो ।
यसअघि विद्यार्थीहरुले पाठ्यपुस्तकको रकम नपाएको,दलित छात्राबृत्ति नपाएको र विद्यालयमा पठनपाठन राम्रो हुन नसकेको भन्दै आन्दोलन गरेका थिए । विद्यालयले पालिकाको शिक्षा शाखा प्रमुख सुरत शाही,पालिका अध्यक्ष नन्दप्रसाद चौलागाई,प्रमुख प्रशासकीय अधिकृत तिर्थ कठायत लगायत पत्रकार र अभिभावकहरु एकै थलोमा भेला गराएर पाठ्यपुस्तकको रकम बारेमा गहन छलफल गरेको थियो ।
पालिका अध्यक्ष चौलागाइले पटक पटक पालिका स्तरका विद्यालयमा अनुगमन गर्दा अधिकांस विद्यार्थी नभेटिएको र अनुगमनमा टाउको गनिएका विद्यार्थीहरुको मात्र पाठ्यपुस्तकको रकम निकासा भएको बताए । उनले भने,‘पालिकाले पाठ्यपुस्तकको रकम पठाइसकेको छ । टाउको गनिएका विद्यार्थीलाई मात्र दिनुहोला । ’
प्रमुख प्रशासकीय अधिकृत कठायतले विद्यालयमा पाठ्यपुस्तक वापत्त आएको रकम बढि भएमा पालिकाको खातामा फिर्ता गर्नुपर्ने बताए । यदि नपुगेको खण्डमा आगामी बर्षमा रकम व्यवस्थापन गर्ने जानकारी दिए । शिक्षा शाखा प्रमुख सुरत शाहीले गत आर्थिक बर्षमा दुर्गा मावि लाम्रामा पाठ्यपुस्तक बापत आएको रकम बारे जानकारी गराएका थिए ।
उनले पटक पटक विद्यालय अनुगमन गर्दा नियमित हाजिर भएका र टाउको गनेका विद्यार्थीको आधारमा रकम निकासा भएको वताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदीप्रसाद न्यौपानले विद्यालयमा हुने हरेक क्रियाकलाप पारदर्शी गर्न प्रधानाध्यापक लगायत शिक्षकहरुलाई निर्देशन दिए ।
उनले भने,‘विद्यालयमा के अपुग छ मलाई भन्नुस । तर विद्यार्थी नियमित पढाउनुस । राजनीति गर्ने थलो विद्यालयलाई नबनाउनुस ।’ प्रधानाध्यापक प्रेमबहादुर शाहीले विद्यार्थी र अभिभावकले राखेका जिज्ञासाको जवाफ दिदै कुनै पनि रकमको अनियमितता नभएको बताए । अभिभावकहरुले विद्यालयमा हुने हरेक कामको लेखाजोखा स्पष्टरुपमा दिनुपर्ने माग गरेका थिए ।

सम्बन्धित शीर्षक