लक्ष्मी न्यौपाने,जुम्ला,
जुम्लाको तिला गाउँपालिकामा निगालोको चोयाबाट रहर लाग्दा सामग्री बनाउन थालिएको छ । तिला ९ मानेचौरमा एक महिने तालिमको आयोजना गरेर किसानहरुलाई निगालोको चोयाबाट विभिन्न सामग्री बनाउन सुरु गरिएको हो । किडार्क नेपाल, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्ला र तिला गाउँपालिकाको त्रिपक्षीय सम्झौतामा किसानहरुलाई तालिम दिइएको थियो ।
तालिममा तिला ६,८ र ९ का ११ जना किसानहरु सहभागि थिए । तिला गाउँपालिकाले कच्चा पदार्थ संकलनमा सहयोग गरेको थियो । उद्योग कार्यालयले प्रशिक्षक पठाएको थियो । सहभागिहरुलाई खाना,नास्ता,आवास र व्यवसाय सञ्चालनका लागि आवश्यक सामग्री प्रबन्ध किडार्क नेपालले गरेको गरेको थियो ।
स्थानीय स्रोत साधनको प्रवद्र्धन तथा रोजगार सिर्जना गरी विपन्न बर्गलाई सीप सिकाई व्यवसायी बनाएर जिविकोपार्जनमा सुधार ल्याउने उद्धेश्यका साथ तालिमको आयोजना गरिएको किडार्क नेपालका पुंकेश्वर भामले जानकारी दिए ।
उनका अनुसार एकिकृत पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना कर्णाली प्रदेशको जुम्लामा पोषण र जीविकोपार्जनको क्षेत्रमा काम गर्ने किर्डाक नेपाल, जुम्ला अन्तर्गतको वर्ल्ड भिजन कोषमा सञ्चालित परियोजना हो ।
यो आयोजनाले कर्णाली प्रदेशको जुम्ला जिल्लाका २६ वटा वडा र १ नगरपालिकालाई समेटेको छ । यस परियोजनाको मुख्य नतिजा भनेको बालबालिकाको राम्रो पोषण हो । परियोजनाले प्रदेश स्तरको सरकारको नीतिगत स्तरलाई प्रभाव पार्ने गतिविधिसँग सम्बन्धित रहेको सामाजिक मिना बुढाले जानकारी दिइन् । परियोजनाका प्रत्यक्ष लाभार्थीहरू सबै नगरपालिका र गाउँपालिकाका सबैभन्दा जोखिममा परेका घरपरिवारहरू रहेका छन । जसमा आरसी परिवार, बाल प्रमुख परिवार, एकल महिला, युवा फर्केका, दैनिक ज्यालामा आश्रित परिवार, वृद्ध परिवार, प्रगतिशील किसानहरु समेटिएको उनले बताइन् ।