बजेट नीति कार्यक्रमका बारेमा सुझाव संकलन गर्दै तातोपानी

लक्ष्मी न्यौपाने,जुम्ला
जुम्लाको तातोपानी गाउँपालिका जुम्लाले आगामी आर्थिक बर्ष २०८०।०८१ का नीति तथा कार्यक्रम र बजेट बारेको सुझाव संकलन कार्यक्रम सकिएको छ । प्रकृति स्रोत र सम्पदाको खानी,सुखी र समृद्ध हाम्रो तातोपानी भन्ने नाराका साथ सुझाव संकलन गरिएको थियो । चरेश र ड्रस सेवन तथा बेचविखनमा रोक लगाउन सचेतना अभिवृद्धि गराउने खाले कार्यक्रम र बजेट ल्याउन आग्रह गरिएको थियो ।
नेकपा एमालेका युवा नेता आदीप्रसाद न्यौपानेले समानुपातिक र समावेशी ढंगले बजेट विनियोजन हुनुपर्ने बताए । उनले विकास निर्माणका कार्यसंगै सामाजिक हानिकारक अभ्यास रोक्न विभिन्न सचेतनामुलक कार्यक्रमको प्याकेज समेत नीति तथा कार्यक्रममा समेटिनुपर्नेमा जोड दिए ।
साना किसानलाई प्रोत्साहन गर्ने,पहुँचविहिन किसानलाई अनुदान दिने देखि गाउँमा सिंहदरबार आइपुगेको अनुभुति गर्ने गरि नीति कार्यक्रम र बजेटको व्यवस्थापन गर्नुपर्ने पनि उनले बताए । गाउँमा पालिका स्तरको टेलिभिजन स्थापना हुुनुपर्ने, पर्यटकीय संभावना बोकेका क्षेत्रको उजागार गर्न प्रचारप्रसारमा जोड दिनुपर्ने,रैथाने अन्नबाली र परम्परागत साँस्कृतिक सम्पदाको संरक्षण गर्नुपर्ने पनि सहभागिहरुले सुझाव दिएका हुन ।
यसैगरी खेतियोग्य जमिनको बर्गिकरण,ढुंगा,गिट्टी,बालुका उत्खन्न र उपयोगको योजना बनाइनुपर्ने, नक्सा पास गरेमात्र घर निर्माणको अनुमति दिनुपर्ने,हरेक घरको बिमा हुनुपर्ने र तातोपानी ऐरेनी र लिताकोट बजार व्यवस्थापन गर्दै समृद्ध गाउँ निर्माण अभियानमा जुट्ने गरि बजेट ल्याउन सहभागिहरुले सुझाव दिएका थिए ।
उपभोक्ता समितिमा एकैघरका व्यक्तिहरु समितिमा बस्नुपर्ने संस्कारको अन्त्य हुनुपर्ने,विकास निर्माणको अनुगमनलाई पारदर्शी र प्रभावकारी बनाउनुपर्ने,विदेश गएका युवाहरुलाई सहुलियत क्रृण दिएर गाउँमै रोजगार दिनुपर्ने,पहुँचका आधारमा भन्दा पनि आवश्यकता र मागका आधारमा आएका योजनाहरु समावेश हुनुपर्ने उनीहरुले सुझाव दिएका थिए ।
जनतासंग अध्यक्ष र उपाध्यक्ष कार्यक्रमलाई अझै प्रभावकारी बनाइनुपर्ने, उत्पादनका आधारमा कृषि पकेट क्षेत्र छनौट हुनुपर्ने,पन्चेबाजा संरक्षण नीति बनेकोमा कार्यन्वयन हुनुपर्ने,पर्यटकीय क्षेत्र र आन्तरिक तथा बाह्य पर्यटकहरुको अभिलेखीकरण गर्नुपर्नेमा पनि सुझाव संकलनमा छलफल भएको थियो ।
हरेक विद्यालयमा शैक्षिक बहस सञ्चालन गर्नुपर्ने,कामको आधारमा सम्मान गर्ने र सजाय हुने व्यवस्था समेटिनुपर्ने र उपभोक्ता समितिमा पदाधिकारीहरु दोहोरिन नहुनेमा जोड दिइएको तातोपानी गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा रहेका सबै स्वास्थ्य संस्थाहरु मापदण्ड अनुसारको हुनुपर्ने,पोषणका क्रियाकलाप बढाउनुपर्ने,बाह्रै महिना पोषिलो खानेकुरा पाउनुपर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिइएको थियो । गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाइले कार्यक्रममा उठेका सवालहरु निकै सान्दर्भिक रहेको भन्दै नीति कार्यक्रम र बजेटका समेट्न अधिकतम प्रयत्न गर्ने बताए । उनले दैविप्रकोप देखि हरेक विपत्तीमा साथ दिन जनता संग अध्यक्ष र उपाध्यक्ष कार्यक्रमलाई अझै फराकिलो बनाउदै अघि बढाउनेमा जोड दिए ।
उनले भने,‘आगामी बजेटले पहुँच विहिनहरुको प्रतिनिधित्व गर्ने छ ।’ आवश्यकता र मागको आधारमा योजना निर्माण हुने भएकोले जो सुकैले योजनाका बारेमा सोच्नुपर्नेमा जोड दिए । उनले पर्यटकीय स्थलहरुको पहिचान,संरक्षण,गुणस्तरीय शिक्षा प्रदान,स्वास्थ्य सेवालाई पारदर्शी बनाउने र आम नागरिकलाई गाउँमा सिंहदरबार आएको अनुभुती गराउने गरि नीति योजना र बजेट ल्याउने जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत तिर्थ कठायतले विकास निर्माणको कामलाई प्रभावकारी र पारदर्शी बनाउन उपभोक्ता,जनता,कर्मचारी र जनप्रतिनिधि बिचको आपसी समन्वय प्रगाढ हुनुपर्ने बताए । कार्यक्रममा नागरिक समाज,शिक्षक,स्वास्थ्यकर्मीहरु,विभिन्न अधिकारकर्मीहरु,जनप्रतिनिधि,नागरिकहरु देखि पत्रकार र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित शीर्षक