तिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा

जुम्लाको तिला गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दीगोपना’ घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता र दीगोपना’ घोषणा गरिएको हो । घोषणा कार्यक्रम सहभागिहरुले खोप लगाऔँ, रोग भगाऔँ भनेर साझा प्रतिवद्वता समेत गरेका छन् ।

जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य र गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले संयुक्त रुपमा विहिबारका दिन पालिकालाई पूर्ण खोप सुनिश्चितता र दीगोपना’ घोषणा गर्नु भएको हो । पालिकाका १ देखि ९ वटै वडाका शुन्यदेखि १५ महिना मुनिका र १६ देखि २३ महिना मुनिका बालबालिकाले खोप पाइसकेकाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना’ घोषणा गरिएको तिला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गणेशवहादुर शाहीले बताउनु भयो ।

उहाँका अनुसार, शुन्यदेखि १५ महिनासम्मका ३७९ जना र १६ देखि २३ महिनासम्मका २१७ जना बालबालिकाले सबै खोप लगाएको सुनिश्चित भएकाले ‘पूर्ण खोप सुनिश्चितता र दीगोपना’ घोषणा गरिएको हो । अहिले बालबालिका ‘खोज र खोप’ भन्ने नीति अन्तर्गत कुनै पनि खोप लगाउने उमेर समूहका बालबालिका खोपबाट वञ्चित हुनु पर्ने अवस्था नभएको शाहीको भनाइ छ ।

स्वास्थ्य संस्थाको टोली सबै खोपकेन्द्रमा पुगेर बालबालिकालाई पूर्ण खोप लगाए नलगाएको सुनिश्चित गरेपछि घोषणा गरिएको शाहीले बताउनु भयो । घोषणा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले बालबालिकाले पूर्ण मात्राको खोप पाउनमा महिला स्वास्थ्य स्वयम सेविकाको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।

उमेर पुगेका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित हुनुले संक्रमणबाट कोहि पनि प्रभावित नहुने उहाँको भनाइ छ । पूर्ण मात्रको खोप लगाउँदा स्वास्थ्य सेवा सुधार हुने आचार्यले बताउनु भयो । खोप लगाउनु अनिवार्य भएको बताउँदै उहाँले भन्नुभयो, गाउँका स्वास्थ्य स्वयम सेविकालाई सम्मानका साथ काममा लगाउन अनुरोध गर्नुुभयो ।

स्वस्थ समाज बनाउन खोप अनिवार्य भएको उहाँको भनाइ छ । खोपका विषयमा पत्रकारहरुलाई सकरात्मक समाचार नागरिकलाई दिन उहाँले अनुरोध पनि गर्नु भएको छ । यता गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले प्रत्येक गाउँमा रहेका बालबालिकाको खोजी गरी खोपको पहुँचमा ल्याईएको बताउनु भयो ।

जनस्वास्थ्य सेवा कार्यालले खोप उपलब्ध गराउदा घोषणा कार्यक्रममा सहयोग पुगेको उहाँको भनाइ छ । खोपको पहुँच भन्दा कोहि पनि बालबालिका बाहिर नरहेको उहाँले बताउनु भयो । तिला विकट पालिका भएकाले खोप लगाउन र स्वास्थ्य सेवा दिन समस्या रहेको उहाँले सुनाउनु भयो ।

पालिका भित्र रहेका बर्थिङ्ग सेन्टर व्यवस्थित गर्न खोजिएको अध्यक्ष रोकायाले बताउनु भयो । स्थानीय सरकारको तर्फबाट जनतालाई सर्वसुलभ सेवा दिन प्रयासको सुरुवात भएको उहाँको भनाइ छ । अध्यक्ष रोकायाका अनुसार, जनताको समस्यालाई हल गर्न तयार रहेको जानकारी गराउनु भयो ।

खोप महत्वपूर्ण भएकाले नछुटाई लगाउन उहाँले अभिभावकहरुलाई समेत सुझाव दिनु भएको छ । आगामी कार्यक्रममा महिला स्वास्थ्य स्वयम् सेविकालाई तालीम र अरू सुविधा दिलाउन नीतिगत व्यवस्था गर्ने उहाँको भनाइ छ । यस्तै उपाध्यक्ष गोरीकला बुढाले प्रत्येक खोप केन्द्रलाई घोषणा गरि सकेपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जानकारी गराउनु भयो ।

बालबालिकाका लागि खोप महत्वपुर्ण भएकाले छुटाउन नहुने उहाँको सुझाव छ । उपाध्यक्ष बुढाका अनुसार, खोपले विभिन्न संक्रमणबाट बचाउने बताउनु भयो । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाले स्वास्थ्य सूचाङ्कमा सहयोग पुग्ने अपेक्षा गरेको उहाँको भनाइ छ । खोप लगाउन छुटेमा नजिकको स्वास्थ्य संस्थामा जान समेत उहाँले अनुरोध गर्नु भएको छ ।

तिला गाउँपालिका भित्रका धेरै जसो स्वास्थ्य संस्था कार्यालय सहयोगिका भरमा चलेको बुढाले बताउनु भयो । तिला गाउँपालिकाले स्वास्थ्य र शिक्षामा जोड दिएको उहाँको भनाइ छ । यस्तै जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका अमरसिंह रावलले अहिले बालबालिका ‘खोज र खोप’ भन्ने नीति अन्तर्गत खोप लगाउने उमेर समूहका बालबालिका खोपबाट टाठा नभएको बताउनु भयो ।

खोप लगाउने उमेर समूहका बालबालिका सबैले पूर्ण खोप पाएकाले ‘पूर्ण खोप सुनिश्चितता तथा दीगोपना’ घोषणा कार्यक्रम प्रभावकारी भएको उहाँको भनाइ छ । खोपले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने भएकाले अभिभावकले पनि आफ्ना बालबालिकाले खोप पाए–नपाएको एकिन गर्न उहाँले अनुरोध गर्नु भएको छ ।

यस्तै निमित्त प्रमुख प्रशासकिय अधिकृत जग बस्नेतले तिलाका ९ वटा वडाका सबै बालबालिकाले पूर्ण मात्रामा खोप पाएको दावी गर्नुभयो । बसाईसरि गएका बाँहेक गाउँमा रहेका सबै बालबालिकाले खोप पाएको उहाँको भनाइ छ । प्रत्येक गाउँमा पुगेर बालबालिकाले खोप पाए नपाएको सुनिश्चित गरेपछि घोषणा गरिएको बस्नेतले जानकारी गराउनु भयो ।

किर्डाक नेपाल जुम्ला र वल्ड भिजन ईन्टरनेश्नल नेपालको सझेदारीमा संचालित बाल संरक्षण परीयोजना अन्तरगत तिला गाउँपालिकाको स्वास्थ्य शाखा संग समन्वय गरेर बालबालिकालाई अनिवार्य खोप लगाउन गाउँगाउँमा जनचेतना मुलक कार्यक्रमहरु गरिएको थियो । विगत दुई बर्षदेखि तालीम ,गोष्ठी , घरदैलो कार्यक्रम गरेर जनचेतना जगाउँदै आएको र घोषणा कार्यक्रममा पनि आर्थिक र भौतिक सहयोग गरेको स्वास्थ्य शाखा प्रमुख शाहीले बताउनुभयो ।

सम्बन्धित शीर्षक