लक्ष्मी न्यौपाने,जुम्ला
जुम्लाको तिला गाउँपालिका ६ नम्वर वडा बालविवाह मुक्त घोषणा भएको छ । लामो समय देखि बालविवाह नभएको र आगामी दिनमा पनि बालविवाह नगर्ने स्थानीयको प्रतिबद्धता भएपछि वैशाख २६ गते वडा नै बालविवाहमुक्त वडा घोषणा गरिएको छ । वडा नम्बर ६ मा रहेका रिपी,सुडी र घोडेगाउँमा बालविवाह भएका छैनन् ।
स्थानीयले बालविवाह नगर्ने र गर्न पनि नदिने भन्दै हस्ताक्षर संकलन समेत गरेका छन । वडा कार्यालयले बालविवाह गर्नेले सरकारी सेवा सुविधाबाट बञ्चित हुनुपर्ने निर्णय गरेको छ । बालविवाह समाज विकासको बाधक हो,वडाध्यक्ष जंगबहादुर रोकायाले भने,‘बालविवाह विरुद्धको क्रियाकलापमा सबै संलग्न भएपछि वडा नै घोषणा गरिएको हो । ’
२० बर्ष पुगिसकेपछि विहे गर्ने,दिगो विकास लक्ष्य अनुसार बालबालिका र किशोरकिशोरी विरुद्ध हुने हिंसा तथा भेदभाव अन्त्य गर्ने,बालविवाह विरुद्धको राष्ट्रिय रणनीति २०७२ कार्यन्वयन गर्ने प्रतिबद्धता गरिएको छ । किशोर किशोरी,अभिभावक,वडाका जनप्रतिनिधि,महिला, सामाजिक अगुवाहरु,धार्मिक अगुवाहरु,बालक्लवहरु,बालअधिकार समितिहरुले २० बर्ष नपुगि विवाह नगर्ने र गर्न नदिने प्रतिबद्धता गरेका छन,वडाध्यक्ष रोकायाले भने,‘बालविवाहको लगन जुराउने,भोजभतेर खाने र मुग्लेरी र जन्ती नजाने निर्णय भइसकेको छ । यो सकरात्मक कार्य हो । ’किशोर तथा किशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुंच सुनिश्चिता गर्ने र बालविवाह भएको वा गरेको जानकारी पाएमा कानुन बमोजिम विवाह बदर गर्ने समेत निर्णय भएको वडा कार्यालयले जनाएको छ ।
तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बालविवाह विरुद्ध स्थानीय सरकार कडा रुपमा प्रस्तुत हुने बताए । उनले सरकारी लक्ष्य अनुसार बालविवाह मुक्त पालिका घोषणा गर्ने कार्यको प्रारम्भ वडा नम्वर ९ देखि भइसकेको स्पष्ट समेत पारे । यसअघि जुम्लाको पातारासी ६ नम्वर वडा पनि बालविवाह मुक्त घोषणा गरिएको थियो । त्यहॉ बालविवाह अन्त्य गर्न विवाह गर्न अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।