आरन पेसा बचाउँदै पातारासी

लक्ष्मी न्यौपाने,जुम्ला ।
जुम्लाको पातारासी गाउँपालिकाले लोप हुैदै गएको आरन पेसा जोगाउन थालेको छ । आरन पेसाले आयआर्जनका क्रियाकलापमा प्रत्यक्ष सहयोग गर्ने भन्दै आरन पेसाको जगेर्ना गर्न थालिएको हो । पहिलो पटक पातारासीले आरनको माध्यमबाट घरेलु औजार उपकरण बनाउन तालिम प्रदान गरेको कृषि शाखा प्रमुख रुपक बुढाले जानकारी दिए ।
उनका अनुसार नयाँ उद्यमीहरुका लागि १५ दिने आरन उद्योग सीप विकास तालिम र घरेलु उत्पादन उद्योगमा १५ जनालाई तालिम दिइएको थियो । गरीबि निवारणको लागि थोरै सीप सिकाएर जीविकोपार्जनमा टेवा पुर्याउने हेतुले तालिम दिइएको पातारासीले जनाएको छ ।
आरन पेसा दलितहरुले गर्दै आइरहेका थिए । तर पछिल्लो समयमा आयतित भाडाकँडाले उनीहरुको पेसा संकटमा परेको थियो,कृषि शाखा प्रमुख बुढाले भने,’पेसा पनि जोगिने र आयआर्जनमा सहजै हुने भएकोले सीप सिकाइएको हो । यो सीपले उनीहरु आर्थिक हिसाबले सबल हुने अपेक्षा गरिएको छ । ’
आफुहरुले सिकेको सीपलाई व्यवहारमा उतार्ने सहभागीहरुले प्रतिबद्धता जनाएका छन । धेरै समयको अन्तरालमा आरनको पेसा तिर अघि बढ्दा चुनौति त थपिएको छ । तर अब आरन पेसालाई व्यवसायिक रुपमा अघि बढाउने उनीहरुले बताएका छन । प्रशिक्षक हेमन्त थापा विश्वकर्माले परम्परागत सीप भन्दा आधुनिक युग अनुसारको सीप तालिममा प्रदान गरिएको बताउँछन् । उनले भने,‘सीप उनीहरुले राम्रै सिकेका छन । अब औजार उपकरण देखि व्यवसायमा लाग्न पालिकाले प्रेरित गर्न जरुरी छ ।’
प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर रावलले उद्यम विकास भनेको गरिबीबाट माथि उठ्न गरिएको प्रयास भएको बताए । थोरै लगानीले आत्मनिर्भर बन्न सक्ने बनाउने हो । उनले भने,‘तपाइहरु सिकेको सीप व्यवहारमा उतार्नुहोस । पालिका सधैं तपाईको साथमा रहनेछ ।’
पालिका अध्यक्ष पुर्णसिंह वोहोराले सिकेको सीपलाई व्यवहारमा उतारेर आरन पेसाको संरक्षणमा लाग्न आग्रह गरेका थिए । उनले भने,‘सीपलाई मनभित्र मात्र राखेर नबस्नुहोस । व्यवहारमा कार्यन्वयन गरेर आयआर्जनमा सहभागि हुनुहोस । तपाइहरुको जीवनमा ठुलो परिवर्तन ल्याउनेछ ।’ उपाध्यक्ष जनमाया रोकायाले सीपले लगानी भित्र्याउने बताउँदै आरनबाट नयाँ नयाँ औजारहरु बनाएर सबैको मनजित्नु पर्नेमा जोड दिइन् ।
तपाइहरु आरनबाट विभिन्न ब्राण्डका सामानहरु बनाउनुहोस । उनले भनिन्,‘सामान किन्न ग्राहकहरु घरमै पुग्नेछन् । यो अवसर तपाइहरुका लागि छ । ’उनले पातारासीलाई आरनको पालिका भनेर चिनाउन समेत आग्रह गरिन् ।
प्रशिक्षक विश्वकर्मा सल्यानबाट आएका हुन । तपाइहरुलाई सीप सिकाउन सल्यानबाट प्रशिक्षक आए । उपाध्यक्ष रोकायाले भनिन्,‘तपाइहरु सीप सिकेर सल्यान प्रशिक्षक भएर जाने अवस्था निर्माण गर्नुहोस । अनि मात्र सीप सिकेको सार्थकता हुनेछ ।’
अध्यक्ष उपाध्यक्ष कार्यक्रमबाट एक लाख रुपैयाँ र मेड्पाको दुई लाख ५ हजार रुपैया“ले तालिम दिइएको हो । ४३२ घरधुरी रहेको सो वडामा ४० जनाले आरन पेसाबारेको तालिम लिइएका वडाध्यक्ष बल बोहोराले जानकारी दिए ।

सम्बन्धित शीर्षक