लक्ष्मी न्यौपाने,जुम्ला ।
जुम्लामा महिलाको कार्यबोझ कम गर्न किर्डाक नेपाल जुम्लाले क्षमता अभिवृद्धि अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । वल्र्डभिजन इन्टरनेश्नल नेपाल जुम्लाको आर्थिक सहयोग र किडार्क नेपाल जुम्लाको सहजीकरणमा एक दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यबोझका कारण जुम्लाका महिलाहरुको दिनप्रतिदिन स्वास्थ्य अवस्था बिग्रदो अवस्थामा पुगेको भन्दै स्वास्थ्य सुरक्षाका लागि भएपनि कार्यबोझ घटाउनु पर्ने अभिमुखीकरणमा छलफल गरिएको थियो । कार्यक्रममा तिला,तातोपानी,चन्दननाथ,गुठिचौरका गाउँपालिका गरेर १९ जना महिलाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजकर्ता मानबहादुर रावतका अनुसार तिलाका ५ जना,तातोपानीका १ जना,चन्दननाथका ११ जना र गुठिचौरका २ जना महिलाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा महिलाहरुले दाल दल्ने र विभिन्न मेसिन चलाउने बिषयमा जानकारी लिएका थिए । तिला ४ का बिमला शाहीले दाल दल्ने र विभिन्न मेसिन चलाउने बिषयमा जानकारी लिदैं आफुहरु मेसिन चलाउन सक्षम भएको बताइन् ।
आफुले सिकेको सीप गाउँमा प्रयोगमा ल्याउने बताउदै उनले अरु समुहका सदस्यहरुलाई पनि सिकाउने प्रतिबद्धता जाहेर गरिन ।
चन्दननाथ १ की सुनिता थापाले मेसिनको प्रयोग र मर्मत गर्न सक्ने क्षमताको विकास भएको बताइन् । उनले भनिन्,‘ कार्यबोझ घटाउन उपकरणको प्रयोग गर्ने विषयमा जानकारी लिएका छौं । अव गाउँमा पनि सबैलाई सिकाएर कार्यबोझ घटाउनको पहल गर्ने छौं । ’
किडार्क नेपालका जिविकोपार्जन अधिकृत सरु महतले जिविकोपार्जनकै लागि महिलाहरुले कडा संघर्ष गर्नु परिरहेकोले कार्यबोझ बढ्ने गरेको बताइन । उनले भनिन्,‘कार्यबोझका कारण महिलाको स्वास्थ्य खतरामा देखिन्छ । अब कार्यबोझ घटाएर महिलाहरुको स्वास्थ्य अवस्था सुधार्न पहल भइरहेको छ । मेसिनको प्रयोग गरेर भएपनि कार्यबोझ घटाउने कार्यमा महिलाहरु अग्रसर भएका छन । ’
महिलाहरुले अभिमुखीकरण कार्यक्रममा धेरै ज्ञान प्राप्त भएको किडार्क नेपालका अजित थापाले जानकारी दिए । किडार्क नेपाले किसान र महिलाको जिविकोपार्जनमा सुधार ल्याउनको लागि पहल गरिरहेको जनाएको छ ।
किडार्क नेपालले महिलाको कार्यबोझ घटाउनको लागि मकै निकाल्ने मेसिन समेत प्रदान गरेको छ । मेसिन चलाउन र बिग्रेको मेसिन मर्मत गर्न समेत सिकाएको छ । जिल्लामा रहेका पाँचवटा समुहलाई ४० हजार रुपैयाँ बराबरको मेसिन प्रदान गरिएको जिविकोपार्जन अधिकृत महतले जानकारी दिइन् । कुल १२५ जना महिलाहरुलाई कार्यबोझ घटाउन दाल दल्ने र मकै खोसाउने मेसिन दिइएको किडार्क नेपालले जनाएको छ ।