स्थानीय तह निर्वाचनका लागि मतपत्र जुम्लामा आइपुग्यो

जुम्ला — वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र जुम्ला पुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जुम्लामा ७६ हजार मतपत्र आइपुगेको जानकारी दिएको छ । नेपाली सेनाको स्कर्टिङमा कर्णाली राजमार्ग हुँदै मतपत्र जुम्ला ल्याइएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले १ सय ५२ पेटीमा ७६ हजार मतपत्र जुम्ला आइपुगेको बताए । अहिले मतदानस्थलमा पठाउनका लागि मतपत्र प्याकिङको काम भइरहेको छ ।

अहिले हरेक पालिकामा स्थापना भएका निर्वाचन कार्यालयका अधिकृतसँग जनशक्ति व्यवस्थापन र मतपत्र लैजाने विषयमा छलफल भइरहेको छ । मुख्य निर्वाचन अधिकृत ज्वाहरप्रसाद सिंहले जुम्लामा ६७ हजार ७ सय ४४ मतपत्र आवश्यक पर्ने भए पनि १० हजार मतपत्र बढी आएको बताए ।

प्याकिङ भइरहेका मतपत्र नेपाली सेनाको स्कर्टिङमा प्रत्येक मतदानस्थलसम्म लैजाने तयारी भइरहेको छ । नन्दाबक्स गणका गणपति रवीन थापाले जुम्लाका लागि चाहिने मतदान पत्र हावा पानी नछिर्ने ठूलो कन्टेनरमा स्कर्टिङ गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म पुर्‍याएको बताए ।

उनका अनुसार हरेक मतदानस्थल नजिकै नेपाली सेना परिचालन भइसकेको छ । जुम्लाको जम्मा मतदाता संख्या ६७ हजार ७ सय ४४ रहेको छ । पुरुष ३५ हजार २७३ जना र महिला ३२ हजार ४सय ७१ जना रहेको निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिए ।

यहॉको एक नगरपालिका र सात गाउँपालिकामध्ये सबैभन्दा बढी मतदाता संख्या चन्दननाथ नगरपालिकामा ११ हजार ८२० रहेको छ । जसमा पुरुष ५ हजार ८४७ जना र महिला ५ हजार ९७३ छन् । चन्दननाथ नगरपालिकामा मतदानस्थल १० वटा र मतदान केन्द्र १६ वटा छन् ।

सम्बन्धित शीर्षक