जुम्लामा निर्वाचन सुरक्षाका लागि तीव्र तयारी

जुम्ला । निर्वाचन सुरक्षाका लागि जुम्लामा डिजिटल नक्सा अनुगमन गरिने भएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचन सुरक्षाका लागि भौतिकरूपमा अनुगमनदेखि डिजिटल नक्सा अनुगमन गर्न थालेको हो । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले निर्वाचन सुरक्षाका लागि डिजिटल नक्सासमेत तयार गरिएको बताए।

डिजिटल माध्यमबाटै भौगोलिक विषय र सुरक्षाको दृष्टिमा कति नजिक र टाढा तथा कसरी सुरक्षा व्यवस्था गर्न सकिन्छ भन्ने विषयमा जिल्ला सुरक्षा समितिले डिजिटल नक्सासमेत तयार पारेको प्रजिअ प्रसाईंले बताए। जिल्लाभर ७९ वटा मतदानस्थल र १०२ वटा मतदान केन्द्र रहेका छन् ।

तिनीहरुमध्ये १४ वटा मतदान केन्द्रमा ५०० भन्दा कम मतदाता रहेका छन् । जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले भने, ‘केही मतदान केन्द्रमा हिँडेरै जानुपर्ने र एक दिन लाग्ने अवस्थाका छन् ।’ त्यसका लागि सुरक्षा निकायले स्थल अनुगमन तथा अवस्थाको विषयमा जानकारी लिई सुरक्षा योजना तयार पारिसकेको छ । जिल्लाका मतदानस्थलहरुमा एक महिनाअघि देखि सुरक्षा निकायले अनुगमन थालेको प्रहरी नायब उपरीक्षक चन्दले बताए।

सबै निर्वाचनस्थलमा खटिए नेपाली सेना र सशस्त्र प्रहरी

यहाँका सबै निर्वाचनस्थलमा नेपाली सेना र सशस्त्र प्रहरी खटिएका छन् । राज्यले दिएको अधिकार र मापदण्डमा निर्वाचन सुरक्षाका लागि मतदानस्थलमा नेपाली सेना परिचालन भइसकेको नन्दबक्स गणका गणपति रबिन थापाले बताए।

जिल्लामा डिजिटल नक्सा राखिएको र सो नक्साबाट सुरक्षा निकाय जिल्लाभर कसरी मतदानस्थलमा काम गरिरहेको हेर्ने सकिने नेपाली सेनाले जनाएको छ । डोल्पा हुम्ला, मुगु र कालीकोटमा समेत थप सुरक्षा परिचालन गरिएको छ ।

ड्रोनको समेत प्रयोग गरेर सबै मतदान स्थानको विवरण अपडेट गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ । जुम्लाबाट छनोट भएका ६६९ जना म्यादी प्रहरीसमेत परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

सम्बन्धित शीर्षक