जुम्ला — दुई वर्षअघिसम्म कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिर जताततैबाट देखिन्थ्यो । मन्दिरमा पुग्न नसक्ने श्रद्धालुले टाढैबाट भए पनि दर्शन गरिरहेका हुन्थे । चारैतिरबाट मन्दिर चिटिक्क देखिन्थ्यो । तर‚ मन्दिरको आडैमा पाँच तले सरकारी भवन निर्माण भएपछि मन्दिरको शोभा नै हराएको छ । अहिले सदरमुकाम खलंगाको खाल्डोमा मन्दिर डुबेजस्तो देखिएको छ ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको पाँचतले भवन बनेपछि मन्दिरको पहिचान गुम्ने खतरा देखिएको गुठी समितिका सुब्बा रत्नचन्द्र आचार्यले जानकारी दिए । पहिले सरकारी भवन एक तलासम्म बन्ने अनुमान गरिएको थियो । अहिले पाँच तला पुग्दा मन्दिरको शोभा नै पुरिएको अनुभूति भइराखेको छ,’ उनले भने, ‘मन्दिरको गुठी समितिसँग कुनै परामर्श नगरी भवन बनाउँदा समस्या आएको छ । जसका कारण सदरमुकाम खलंगा नै अशोभनीय देखिएको छ ।’
‘भवन निर्माण गर्नुअघि कार्यालयले गुठी समितिसँग कुनै समन्वय गरेन । एक्कासी पाँच तलाको भवन बन्ने भन्दै तीन तलाको काम सुरु भएपछि मात्र थाहा भयो,’ गुठी समितिका अध्यक्ष पूर्णसिंह कठायतले भने, ‘यो भवनले चन्दननाथ मन्दिर छेक्यो । मन्दिरको गरिमा र पहिचान मेट्ने प्रयास भयो; सुन्दरता हरायो; यो राम्रो भएन ।’
पहिले मन्दिर वरिपरिको घर एक तला मात्रै उठाएर बनाउन मिल्ने परम्परागत चलन थियो । त्यो पनि माटोको छानो भएको मात्र घर बनाइन्थ्यो । पछिल्लो समय दुई तलासम्मको घर बन्न थाले । जस्ताले घर छाउने अवस्था सिर्जना भयो । तर‚ मन्दिर क्षेत्रमा बनेका अधिकांश टहरा माटोको छानोले बनेका छन् ।
अध्यक्ष कठायतले भने, ‘अहिले त व्यक्तिगत र सरकारी भवनले सबैजसो मन्दिर ढाक्न थालिसके । मन्दिरमा अगाडि हुने ५२ हाते लिङ्गाभन्दा अग्ला भवन निर्माण हुन थालेका छन् । कर्णालीको धार्मिक आस्था संकटमा पर्न थालेको महसुस हुन थाल्यो ।’
घर निर्माण गर्दा पहिले कसैले पनि समन्वय गर्ने गर्दैनन् । तला बढेपछि मात्र थाहा हुन्छ । मन्दिरको शोभा मेटिने गरी भवन बनाउने सरकार र घर बनाउनेहरूका कारण धार्मिक आस्था धुमिल बनिरहेको छ ।
‘मन्दिर सबैको आस्थाको धरोहर हो । यो धरोहरको आफ्नै खाले पहिचान छ । यो पहिचान मेटिनुहुँदैन,’ गुठी समितिका अध्यक्ष कठायतले भने, ‘नेपालको भाषा संस्कृतिको उद्गम स्थल जुम्ला हो । धार्मिक धरोहरका रुपमा रहेको चन्दननाथ मन्दिर हो । प्राचीन कालदेखि स्थापित धरोहरलाई प्रत्यक्ष असर पर्ने गरी भवन बनाइएको छ ।’
भूकम्प, दैवी प्रकोप भएको खण्डमा भवनको तला भत्किएर मन्दिरको भौतिक संरचनामा क्षति हुने खतरा बढेको छ ।