सवारी लाइन्सेन्स वितरण पारदर्शी बनाउन मन्त्री रोकायाको निर्देशन

कर्णाली प्रदेशका भौतिक पुर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले जुम्लामा खुलिरहेको सवारी लाइसेन्स वितरण प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउन निर्देशन दिएका छन । उनले ट्रायल सेन्टरको छड्के अनुगमन गर्दै मन्त्री रोकायाले लाइसेन्स वितरणमा देखिएका सबै प्रकारका वेतिथी अन्त्य गर्न निर्देशन दिएका हुन ।
उनले भने,‘सवारी लाइसेन्स वितरणमा अनियमितता भएको, दलाली संग मिलेर महंगोमा लाइसेन्स बाँडेको, लिखित परिक्षामा भद्रगोल भएर पारदर्शी परिक्षा हुन नसकेको र कसैकसैले ट्रायल पास नगरेर लाइसेन्स लिने गरेको जनगुनासो छ । यो राम्रो भएन । ’
मन्त्री रोकायाले लाइसेन्स वितरणको सुरुको प्रक्रिया देखि नै पारदर्शीता देखाउन समेत यातायात व्यवस्था कार्यालय कार्यालय जुम्लाका कर्मचारीलाई निर्देशन दिएका हुन । उनले ट्रायल फेल भएका व्यक्तिलाई लाइसेन्स नदिन र निष्पक्ष र पारदर्शी तरिकाले ट्रायल गर्ने वातावरण मिलाउन समेत सुझाए ।
एक्कासी भौतिक मन्त्री रोकाया ट्रायल सेन्टरमा पुग्दा कर्मचारी अलमलमा परेका थिए । उनले पहिलेको जस्तो गैर जिम्मेवार तरिकाले लाइसेन्स दिएको भेटिएमा तत्काल कार्वाही प्रक्रिया अघि बढाउने समेत चेतावनी दिएका छन । यो बर्षको लाइसेन्स लिनका लागि १ सय २५ जना मात्र पास भएको कार्यालयले जानकारी दिएको थियो ।
निरोगीताको प्रमाणपत्र चिकित्सकको चेकजाँच बिनै दिने गरेको,दलालले एक लाइसेन्सको २० देखि २५ हजार रुपैयाँ सम्म लिने गरेको र चिनजान र भनसुनका आधारमा सबै प्रक्रियामा सफल गराइदिने गरेको परीक्षार्थीहरु बताउँछन ।
मन्त्री रोकायाले लाइसेन्स वितरणमा देखिएको विकृतीले जुम्लाको बदनाम हुने गरेको स्मरण गराउदै आगामी दिन रीत पुगेका वाहेकले लाइसेन्स लिएको भेटिएमा राम्रो नहुने समेत बताए । मन्त्री रोकायाले तातोपानी गाउँपालिका ५ ऐरेनी स्थित आलगागीबाट घर जलेको परिवारलाई समेत भेट गरेको मन्त्री रोकायाका स्वकीय सचिव अमर रोकायाले जानकारी दिए ।

 

सम्बन्धित शीर्षक