लक्ष्मी न्यौपाने
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले हुम्ला जिल्ला अस्पतालबाट विशेषज्ञ शल्यचिकित्सा सेवा उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्लाका अस्पताल गएर विशेषज्ञ शल्यचिकित्सा सेवा उपलब्ध गराउन मेडिकल कलेज र प्रतिष्ठानसँग सम्झौता सुरु गरेसँगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले हुम्ला अस्पतालबाट विशेषज्ञ शल्यचिकित्सा सेवा उपलब्ध गराउने भएको हो ।
राष्ट्रिय चिकित्सा ऐन, २०७५ को दफा २० अन्तर्गत सो सम्झौता अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका सबै मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानले कुनै एक जिल्लामा अनिवार्य विशेषज्ञ शल्यचिकित्सा सेवा दिनुपर्नेछ । जिल्लास्तरमा विशेषज्ञ सेवाका लागि केही मेडिकल कलेजसँग सम्झौता भएको छ भने केही प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।
कुन अस्पतालले कहाँ सेवा दिँदै छन् ?
– नेपालगन्ज मेडिकल कलेज, बाँके– जाजरकोट अस्पताल
– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला – हुम्ला जिल्ला अस्पताल
– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान – गोरखा अस्पताल
– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्की – दमौली अस्पताल, तनहुँ
– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान – धनकुटा अस्पताल
– धुलिखेल मेडिकल कलेज तथा शिक्षण अस्पताल – सिन्धुली अस्पताल
– विराट मेडिकल कलेज शिक्षण अस्पताल – तेह्रथुम अस्पताल
– किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल – दोलखा अस्पताल
–नेपाल मेडिकल कलेज जोरपाटी – खोटाङ अस्पताल
– नोबेल मेडिकल कलेज शिक्षण अस्पताल – पाँचथर अस्पताल
– चितवन मेडिकल कलेज –लमजुङ अस्पताल
– कलेज अफ मेडिकल साइन्सेज भरतपुर, – मध्यविन्दु अस्पताल, नवलपुर
– लुम्बिनी मेडिकल कलेज, पाल्पा – गुल्मी अस्पताल
– गण्डकी मेडिकल कलेज, पोखरा – स्याङ्जा अस्पताल, स्याङ्जा
– मणिपाल मेडिकल कलेज तथा शिक्षण अस्पताल, पोखरा–पर्वत अस्पताल
– नेसनल मेडिकल कलेज वीरगञ्ज– गौर अस्पताल
– युनिभर्सल मेडिकल कलेज, भैरहवा – रुकुम अस्पताल, रुकुम पश्चिम
– काठमाडौं मेडिकल कलेज – रामेछाप अस्पताल
– त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगन्ज मेडिकल क्याम्पस ः सिन्धुपाल्चोक अस्पताल
– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) – धादिङ अस्पताल
मन्त्रालयले सम्झौता गरेका अस्पतालले जिल्लास्तरमा बहिरंग सेवा बिरामीको रोग पहिचान र उपचारको व्यवस्था गरी अपरेसन, शल्यक्रिया गर्नुपर्ने, अप्रेसन गर्ने बिरामीको अप्रेसनपछिको जाँच, फलोअप र परामर्श दिनुपर्ने र महिला तथा प्रसूति सेवा साथै जटिल गर्भवती सेवा तथा परामर्श सेवा दिनेछन् ।