सुख्खा पहिरोले बन्द कर्णाली राजमार्ग ७ घण्टापछि खुल्यो

जुम्ला — सुख्खा पहिरो खसेपछि बन्द भएको कर्णाली राजमार्ग ७ घण्टापछि खुलेको छ । दिउँसो १ बजे सुख्खा पहिरो खसेको थियो । कर्णाली राजमार्गको नाग्म जुम्ला सडक खण्डको तिला गाउँपालिका १ गाडगुडेनीमा सुख्खा पहिरो खसेपछि यातायात सेवा ठप्प भएको थियो ।

प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईंले अनवे मात्र खुलाइएको जानकारी दिइन् । उनले भनिन्,‘झण्डै ७ घण्टापछि सडक खुलाइएको छ । सडक पुरै खुलाउन नसकिने भएकोले अनवे मात्र खुलाइएको हो । ’

१६ मिटर माथिबाट सुख्खा पहिरो खसेको थियो । तलतिरबाट पहिरो पन्छाउने काम भइरहँदा माथिबाट सुख्खा पहिरो झरिरहेको थियो । जोखिमका बीच सडक खुलाइएको प्रमुख जिल्ला अधिकारी प्रसाईंले बताइन् । सडक खुलेपछि जुम्ला सदरमुकाम खलंगादेखि नाग्म कालिकोट हुँदै सुर्खेत जाने सवारी साधन र सुर्खेत, नेपालगंज कालिकोट हुँदै जुम्ला आउने सवारीसाधन सञ्चालनमा आएका छन् ।

सम्बन्धित शीर्षक