जुम्ला तिला गाउँपालिका १ गाडगुडेनीमा सुख्खा पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला — जुम्लाको तिला गाउँपालिका १ गाडगुडेनीमा सुख्खा पहिरो झरेपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । झण्डै १६ मिटर माथिबाट सुख्खा पहिरो झरेको हो । पहिरोले सडक पुरीएपछि यातायात सेवा ठप्प भएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी नरेन्द्र चन्दले पहिरो पन्छाउने काम भइरहेको बताए ।

उनले भने,‘तलतिरबाट पहिरो पन्छाउने काम भइरहेको छ । माथिबाट सुख्खा पहिरो झरिरहेको छ । पहिरो पन्छाउन पनि निकै जोखिम छ । जोखिमका बीच सडक खुलाउने प्रयास जारी छ । ’ अहिले जुम्ला सदरमुकाम खलंगादेखि नाग्म कालिकोट हुँदै सुर्खेत जाने सवारी साधन र सुर्खेत, नेपालगंज कालिकोट हुँदै जुम्ला आउने सवारीसाधन रोकिएका छन् । यात्रु अलपत्र अवस्थामा छन् ।

सुख्खा पहिरो झरिरहेको स्थान सम्म प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईं, प्रहरी नायव उपरीक्षक डिएसपी चन्द,नेपाली सेनाका नन्दाबक्स गणका गणपति रविन थापासहितको सुरक्षा समितिको टोली पुगेर फर्किएको छ । डिएसपी चन्दले भने,‘पहिरो दिउँसो एक नबज्दै गएको थियो । ठुल्ठूला ढुंगा झरेकोले ब्रेकर लगाएर फुटाउने काम चलिरहेको छ । माथिबाट पहिरो खस्न नरोकिएकोले राजमार्ग खुलाउन समय लाग्ने देखिन्छ । ’

जबसम्म माथिबाट पहिरो रोकिँदैन, तबसम्म सडक नियमितरुपमा खुलाउन संभव छैन । एक ट्रयाक भए पनि खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । सडक खुलाउन सुरक्षाकर्मीको टोलीसमेत खटिएको छ । तत्काल यातायात सेवा सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन् । कान्तिपुर बाट

सम्बन्धित शीर्षक