सिँजामा नेकपा एकीकृत समाजवादीको कार्यकर्ता भेला सम्पन्न

नेकपा एकीकृत समाजवादी पार्टी जुम्लाले सिँजा गाउँपालिकाको नराकोटमा कार्यकर्ता भेला सम्पन्न गरेको छ । भेला मार्फत आगामी स्थानीयतहको निर्वाचनमा जुट्न नेता कार्यकर्तालाई निर्देशन गरिएको हो । एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज देविलाल थापाले निर्वाचन केन्द्रीत कार्यक्रमलाई घनिभुत बनाउन निर्देशन दिए । उनले एकीकृत समाजवादीको स्पष्ट धारणा मतदाता समक्ष पुर्याउनको लागि आग्रह गर्दै जनताको हित गर्ने पार्टी नै एकीकृत समाजवादी भएकोमा जोड दिए ।
कर्णाली प्रदेश सरकारका भौतिक योजना तथा शहरी विकासमन्त्री पदमबहादर रोकायाले एकीकृत समाजवादी पार्टीले मात्र जनताको अपेक्षा अनुसार कार्य गर्ने भन्दै जनताको मनमुटुमा पस्न कार्यकर्ताहरुलाई अपिल गरे । उनले भने,‘जिल्लाका अधिकांस स्थानीयतह र वडामा आफ्नो पक्षमा मत परिणाम आउने गरि परिचालन गर्न हुनुपर्छ । ’
जिल्ला कार्य समितिका सचिव आदीप्रसाद न्यौपानेले स्थानीय चुनावमा केन्द्रको निर्देशन अनुसार अघि बढ्ने बताए । उनले यदि कसैले दम्भ देखाएको खण्डमा जिल्लाको आठ स्थानीयतह र ६० वडामा एक्लै प्रतिश्पर्धा गर्न तयार रहेकोमा जोड दिए ।
उनले भने,‘हामी केन्द्रको निर्देशन पर्खिरहेका छौँ । केन्द्रीय निर्देशन मुताविक अघि बढ्छौँ । तर कसैले दम्भ देखाएमा कदापी स्वीकार्य हुनेछैन । ’
एकीकृत समाजवादीकी नेतृ नारायणी चौलागाईले महिलाको हकहितका लागि आवाज बुलन्द गर्ने पार्टी नै नेकपा एकीकृत समाजवादी पार्टी भएकोले सबैले साथ दिनु पर्ने बताइन् । भेलामा नेपाली काँग्रेस,एमाले लगायतका पार्टीबाट झण्डै डेढ सय जनाले एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका थिए । सो अवसरमा मन्त्री रोकायलाई बधाइ तथा स्वागत गरिएको थियो ।

सम्बन्धित शीर्षक