आगामी वैशाख ३० गते हुन लागेको स्थानीयतहको निर्वाचनमा बालबालिकाको प्रयोग रोक्न मानवअधिकार रक्षक सञ्जाल जुम्लाले माग गरेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लामा ध्यानकर्षण पत्र बुझाउँदै चुनावमा हुने बालबालिकाको प्रयोग रोक्नु पर्नेमा जोड दिएको हो ।
चुनाव प्रचारप्रसारका लागि कुनै पनि राजनीतिक दलहरुले बालबालिकाको प्रयोग गर्न पाइदैन । त्यही अनुसार जुम्ला स्थित राजनीतिक दललाई परिपत्र गर्नुपर्ने मानवअधिकार रक्षक सञ्जालले जनाएको छ । निर्वाचन आचारसंहिताको उलङ्घन गर्ने,१८ बर्ष मुनिका बालबालिकालाई प्रयोग गर्ने र विद्यालयमा चुनावी कार्यक्रम गरेर पढाइ प्रभावित बनाउने कार्य राक्न ध्यानकर्षण गरिएको मानवअधिकार रक्षक सञ्जाल जुम्लाका अध्यक्ष राजबहादुर महतले जानकारी दिए ।
बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६ को उपदफा २ मा राजनीतिक प्रयोजनका लागि बालबालिकालाई सङ्गठित गर्ने वा हड्ताल, बन्द, चक्काजाम, धर्ना, र जुलुसमा प्रयोग गर्न नपाइने उल्लेख छ । यो कार्यलाई बालबालिकाविरुद्ध कसुरको रूपमा व्यवस्था गरिएको र यदी कोही कसैले सो कसुर गरेमा दफा ७२ मा ७५ हजार रुपियाँसम्म जरिबाना र तीन वर्ष कैदको व्यवस्था गरिएको छ । विद्यालय शान्ति क्षेत्र हुन भन्ने राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ मा बालबालिकालाई राजनीतिक क्रियाकलापमा संलग्न गर्न नहुने उल्लेख गरिएको भएपनि कार्यन्वयन तह निकै फितलो नै छ ।
अध्यक्ष महतले भने,‘कुनै पनि राजनीतिक दलले चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु हुदैन् । विद्यालयमा चुनावी कार्यक्रम गरेर पठनपाठन प्रभावित बनाउनु हुदैन भन्ने मान्यता मानवअधिकार रक्षक सञ्जालले राखेको छ । स्थानीय प्रशासनले पनि बालबालिकाको प्रयोग रोक्न कठोर निर्णय गर्नुपर्ने देखिन्छ । ’ सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले चुनावमा बालबालिका प्रयोग गर्ने बिषय निकै गम्भीर भएको बताइन । यसको समाधान खोज्न आफ्नो तर्फबाट अधिकतम प्रयास हुनेमा जोड दिइन ।
उनले निर्वाचनमा बालबालिकाको प्रयोग र विद्यालयमा राजनीतिक गतिविधि रोक्न तथा निर्वाचन आचारसंहितालाई कार्यान्वयन गराउने प्रतिबद्धता जनाइन । उनले मानवअधिकार रक्षक सञ्जाललाई राजनीतिक दलको समेत ध्यानाकर्षण गराउन आग्रह गरिन ।
मानव अधिकार रक्षक सञ्जाल जुम्लाका संयोजक राजबहादुर महतले सहायक प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाएका थिए । मानवअधिकार रक्षक सञ्जालका संयोजक राजबहादुर महत, नेपाल पत्रकार महासंघ जुम्ला अध्यक्ष नेत्रबहादुर शाही, इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावल, नगर बाल सञ्जाल अध्यक्ष आकृति न्यौपाने र अल्पकालिन महिला सेवा केन्द्र जुम्लाका अध्यक्ष भगवति श्रेष्ठसहित पत्रकारहरुको सहभागिता रहेको थियो ।