चुनाव लक्षित कार्यक्रम लिएर गाउँपसे दलहरु

स्थानीयतहको निर्वाचन नजिकिदै गर्दा जुम्लाका राजनीतिक दलहरु गाउँमा प्रवेश गर्न थालेका छन । अघिल्लो स्थानीयतहको निर्वाचन देखि गाउँ नगएका दलहरु निर्वाचन नजिकिदै गर्दा गाउँगाउँमा जान थालेका छन ।
जुम्लामा नेपाली काँग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र,एकीकृत समाजबादी लगायतका अन्य साना दलले पनि गाउँमा गएर मतदाता रिजाउन शुरु गरेका छन । अहिले हरेक स्थानीयतहमा कार्यकर्ता प्रशिक्षणमा जुटेका दलहरु विहान बेलुकीको समयमा मतदाताको घरदैलोमा पुगेर प्रचारप्रसार गर्न थालेका हुन ।
निर्वाचन ताका मात्र गाउँजाने दलहरुलाई स्थानीयले आक्रोश पोखिरहेका छन । नेकपा माओवादी केन्द्रका अध्यक्ष बीरबहादुर कुँवरले निर्वाचनका कार्यक्रम अघि बढिसकेको बताए । उनका अनुसार चैत ५ गते देखि औपचारिक निर्वाचन प्रचारप्रसारका काम अघि बढाउन थालिएको छ । उनले भने,‘गाउँमा कार्यकर्ता तथा जन भेटघाटलाई तीब्र पारीएको छ । हरेक मतदाताको दैलोमा पुग्ने पार्टीको रणनीति छ । ’
माओवादी केन्द्रले जिल्ला समन्वय समितिको बैठक बसालेर एक चरण गाउँ सम्म पुगिसकेको जनाएको छ । पहिलो चरणमा आम मतदाताको अवस्था बुझ्ने काम भएको छ । एमसीसीबारे माओवादी केन्द्रको धारणा समेत तल्लो कमिटी सम्म पुगाउने काम गरिरहेको छ ।
एमसीसी एमाले काँग्रेसले जस्ताको तस्तै सदनबाट पारीत गराउने चाहेका थिए । उनले भने,‘१२ वटा ब्याख्यात्मक टिप्पणी सहित माओवादी अघि बढ्यो । यही बिषयमा जनस्तरमा फैलिएको भ्रम चिर्नु पहिलो कर्तव्य हुन आएको छ ।
पार्टीको एजेण्डा लिएर गाउँमा पुगिसकेका छौँ । नेताहरुको कार्यविभाजन गरेर कार्यकर्तालाई सक्रिय बनाउने काम भइरहेको छ । जिल्लाका एक नगरपालिका सहित ७ गाउँपालिकामा चुनाव लक्षित कार्यक्रम भइरहेको दलहरुले बताएका छन ।
नेकपा एमालेका जिल्ला अध्यक्ष शान्तिलाल महत २६ गते जिल्ला समितिको बैठक बसेर औपचारिक रुपमा चुनावी प्रचार अभियानमा गाउँमा गइसकेको बताउँछन ।स्थानीयतहमा प्रचारप्रसार र प्रशिक्षण भइरहेको उनले जानकारी दिए । फागुन २८ गते तातोपानी गाउँपालिकामा चुनाव लक्षित कार्यक्रम गरिएको छ । चेत्र १ गते चन्दननाथ,चैत ५ पातारासी,चैत ७ गते गुठिचौर गाउँपालिकामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम राखिएको छ ।
चैत ८ गतेदेखि ११ गते सम्म जुम्ला प्रदेश (ख) क्षेत्रमा चुनाव प्रचारप्रसारको कार्यक्रम प्रारम्भ हुने भएका छन । पहिलो चरण गाउँ पुगेर आइसकेपछि समिक्षा हुनेछ । समिक्षा पश्चात नयाँ रणनीति अनुरुप चुनावी कार्यक्रम अघि बढाउने तयारी एमालेको छ ।
अहिले गाउँ गाउँमा जनता उत्साहित छन् । विभाजन पछिको एमाले अझै सुदृढ बन्दै छ । मुल पार्टी भनेको नेकपा एमाल नै हो भन्ने जनताको धारणा अहिले पनि छ । अध्यक्ष महतले भने,‘ चुनावी कुरा प्राविधिक हो । अहिलेसम्म जनता एमाले पक्षमा रहनु प्रमुख बिषय हो । ’
उनले सम्भावित उम्मेदवार छान्न र चुनावका लागि आधार बनाउन गाउँगाउँ पुग्ने गरेको बताए । एकीकृत समाजवादीले पनि चुनावी अभियानलाई घनिभुत रुपमा अघि सारेको छ । सबै स्थानीय तहमा भेला, गोष्ठी, सङ्गठन विस्तारको अभियान चलाइएको नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला सचिव तथा आदिप्रसाद न्यौपानेले बताए ।
अहिले संगठन सुदृढ र प्रचार अभियानमा छौँ । उनले भने,‘सबै नेता कार्यकर्ता गाउँ केन्द्रीत छन । जनताको भावना र चाहना बुझ्ने काम भइरहेको छ । गाउँमा मतदाता निकै खुसी छन । ’ यता नेपाली काँग्रेस जुम्लाले घरघर जाऔँ,नेपाली काँग्रेस जिताऔँ भन्ने अभियानलाई घरदैलो सम्म पुर्याएको छ । काँग्रेस उपसभापति कार्मा बुढा घरदैलोमा पुगेर जनतालाई काँग्रेसमा उत्साहित बनाउन थालेको बताउँछन ।
वामपन्थीहरुले एमसीसीबारे जनस्तरमा फैलाएको भ्रम चिरफार गर्दै जनताको मन मष्तिष्कमा बस्ने कार्य चलिरहेको उनले बताए । नेपालमा एमसीसी काँग्रेसको पहलमा आएको हो । यसले समृद्ध नेपाल बनाउन सहयोग गर्नेछ,उनले भने,‘यो नेपाली जनताको हीतमा छ । पुर्ण निशुल्क अनुदान हो । भ्रममा नपर्दा उपयुक्त होला । ’
देशमा जे जति ठुला विकास निर्माण भएका छन । सबै काँग्रेसको पालामा भएको दाबी गरे । निर्वाचन नजिकिँदै गर्दा पालिकाका अधिकांस जनप्रतिनिधिहरु पनि चुनावी गृहकार्यमा जुट्न लागिसकेको उनले बताए । गाउँमा रहेको वडादेखि पालिकासम्मका जनप्रतिनिधिहरु पार्टीको चुनावी गृहकार्यमा जुटिसकेका छन,उनले भने,‘पार्टीको निर्देशनानुसार सबै जनप्रतिनिधिदेखि नेता तथा कार्यकर्तासम्म चुनावी माहोल बनाउन लागेका छन् । ’
अहिले गाउँका चिया पसलदेखि चौक चौतारासम्म आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनकै चर्चा परिचर्चा चलिरहेको छ । गाउँमा विभिन्न राजनीतिक दलका कार्यकर्ताहरु चुनावी रणनीति लिएर गएको बताउँदै उनले काँग्रेस पनि चुनावि रणनीति लिएर मतदाता आफ्नो पक्षमा पार्न अघि बढेको बताए ।
स्थानीय तहमा अहिले सञ्चालन गरिरहेको सरकारको समीक्षा गर्दै आगामी रणनीति र मतदाताका पिर मर्का बुझिरहेको उनले बताए । हामी मतदाताका पीर मर्का र उनीहरुलाई एकतावद्ध गर्दै चुनावी माहोल बनाउन गाउँ छिरेका छौँ उपसभापति बुढाले भने,उनले भने,‘कांग्रेससँगै अहिले सबै राजनीतिक दल गाउँ केन्द्रीत बनेकाले गाउँको माहोलै फरक देखिएको छ । ’ स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा गाउँको माहोल सपार्न अहिले राजनीतिक दलका नेताहरू गाउँ तथा टोल केन्द्रित भएका छन् । अहिले राजनीतिक दलहरुले टोल भेला गर्नुका साथै गाउँ तथा नगरमा आम भेलाको तयारी गर्न थालेका छन् । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै यहाँका सक्रिय राजनीतिक दलका नेताहरु मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्नुका साथै चुनावी माहोल बनाउन गाउँ टोल छिरेको बताउँछन । जिल्लाका साना दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदूर किसान पार्टी लगायत दलले पनि स्थानीय चुनाव लक्षित अभियानमा लागेको बताएका छन् ।
सबै दल गाउँ जान थालेपछि गाउँमा चहलपहल निकै बढेको छ । पहिले वास्ता नगर्ने, बाटो काटेर हिड्ने नेता अहिले गाउँमा पुगेर भोट मागिरहेको स्थानीय बताउँछन ।

सम्बन्धित शीर्षक