जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । स्थानीय सरकार संचालनको अन्तिम कार्यकालमा तातोपानी गाउँपालिकाको स्वास्थ्य शाखाबाट एम्बुलेन्स सेवा सञ्चालन भएपछि स्थानीय खुसी छन् ।
दुर्गम गाउँबाट विरामीलाई स्वास्थ्य संस्था तथा कर्णाली प्रतिष्ठानसम्म सहज रुपमा उपचारका लागि ओसारपोसार गर्ने लक्ष्यका साथ पालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।
एम्बुलेन्स सेवा सञ्चालन भएको महिनादिन नबित्दै झण्डै २० जनाबढीले पालिकाको एम्बुलेन्सबाट सेवा लिएका छन् । तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुड्थापाले भने, “पालिकाको सबैभन्दा दुर्गम ७ र ८ नम्बर वडाको भेरीखेला क्षेत्र हो । एम्बुलेन्स सेवाले त्यस क्षेत्रका नागरिकलाई बढी राहत पुगेको छ । सडक पहुँच पुगेपनि नीजि गाडीले बिरामी बोक्दा महंगो खर्च तिर्न बाध्य थिए । कति पैसानै नपाएर उपचारबाट बञ्चित हुन्थे । तर, पालिकाले आफ्नै एम्बुलेन्स सेवा शुरु गरेपछि भेरीखोला क्षेत्र संगै तातोपानीबासीलाई राहत भएको छ ।”
अहिले पालिकाका ८ वटै वडाका नागरिकलाई एम्बुलेन्स सेवा प्रयोग गरेबावत ८ सय रुपैयाँ लिने गरेको प्रमुख प्रशासकिय अधिकृत बुड्थापाले जानकारी दिए । विपन्न नागरिक,गर्भवती महिला,अपांग व्यक्ति,जेष्ठनागरिकलाई निशुल्क एम्बुलेन्स सेवा दिने पालिकाको लक्ष्य रहेको छ । तर, कस्ता व्यक्तिलाई पुर्ण छुट दिने ? कस्तालाई आशिंक छुट दिने भन्नेबारे कार्यविधि बन्न बाँकी रहेको छ ।
कार्यविधि बनेर पारित भए पश्चात विपन्न नागरिक, गर्भवती महिला, अपांग व्यक्ति, ज्येष्ठ नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा पाउने पालिकाले जनाएको छ । तातोपानी गाउँपालिका ८ वटै वडाका अधिकांश बस्तीमा सडक पुगिसकेकोले जटिल पस्थितिमा एम्बुलेन्स सेवाबाट कोही नागरिक बञ्चित नहुने पालिका अध्यक्ष नवराज न्यौपानको आशा छ ।
यता एम्बुलेन्स चालक किसान नेपालीले हाल सम्म झण्डै २० जना बढीले सेवा लिएको उक्त सेवा लिए बापत करिब ३० हजार सेवा शुल्क उठेको बताए । तातोपानी गाउँपालिकाको एम्बुलेन्स सेवा प्रयोगका लागि एम्बुलेन्स चालक किसान नेपालीको मोबाइल नम्बर (९८४८३६३१९१) मा २४ सै घण्टा सम्पर्क गर्न सकिने छ । पालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालन गरेसंगै तातोपानीका नागरिकले घरदैलोमा स्थानीय सरकार पुगेको थप महसुश गरेका छन् ।
स्थानीय सरकार संचालनको अन्तिम कार्यकालमा तातोपानी गाउँपालिकाको एम्बुलेन्स सेवा सञ्चालन
- न्यूज सरोकार
- ३० फाल्गुन २०७८, सोमबार ०८:२९