गाउँपालिकाको विवाद समाधानका लागि वार्ता टोली गठन

जुम्लाको कनकासुन्दरी गाउँपालिकाको केन्द्र विवाद समाधानका लागि वार्ता टोली गठन भएको छ । कनकासुन्दरी गाउँपालिका ४ का वडाध्यक्ष रविलाल आचार्यको संयोजकत्वमा ६ सदस्यीय वार्ता टोली गठन गरिएको हो । कनकासुन्दरी गाउँपालिकाको आठौँ गाउँसभामा केन्द्र विवाद उत्कर्षमा पुगेपछि गाउँकार्यपालिका बैठकले वार्ता टोली गठन गरेको हो ।
गाउँपालिकाको केन्द्र अहिले चलेको ठाउँमै राख्नु पर्ने एक पक्षको अडान र कनकासुन्दरी ५ साविकको विराट गाविस भएको ठाउँमा केन्द्र राख्नु पर्ने अर्को पक्षको अडान कायमै रहेपछि केन्द्र तोक्न सकिएको थिएन । सदस्यमा कनकासुन्दरी १ का वडाध्यक्ष हरीबहादुर भण्डारी,२ का वडाध्यक्ष शेरबहादुर रावत,७ का वडाध्यक्ष धनजीत रोकाया,८ का वडाध्यक्ष रत्नलाल उपाध्याय र प्रमुख प्रशासकीय अधिकृत तिर्थ कठायत सदस्य छन ।
गाउँपालिका केन्द्र तोक्नको लागि आ आफ्नो लविङमा रहेका वडाध्यक्षलाई वार्ता टोलीमा राखिएको छैन । प्रमुख प्रशासकीय अधिकृत कठायतले कनकासुन्दरी ५ का वडाध्यक्ष मनुविर बुढा,५ का वडाध्यक्ष बिर्खबहादुर खत्री र ६ का वडाध्यक्ष जग्गीप्रसाद आचार्यलाई वार्ता समितिमा नराखिएको बताए । उनीहरुले क्रमश : गोठीजीउला,लड्कु र गोरुचौरमा केन्द्र तोक्नु पर्ने अडान राखेका छन ।
गाउँपालिका केन्द्र तोक्न धेरै पटक कार्यपालिका बैठकमा सहमतिको प्रयास भएको थियो । तर सहमति हुन सकेको थिएन । जसका कारण आठौँ गाउँसभा चल्न सकेन । गाउँसभाले पारीत गर्नु गर्ने दर्जन बढि कानुन पारीत हुन सकेका छैनन । सभासदस्यहरुले गाउँपालिका केन्द्र नतोकिदा सम्म गाउँसभा हुन नदिने अडान राखेका छन ।
सबैपक्ष संग वार्ता गरेर गाउँपालिका केन्द्रको टुंगो लगाउन वार्ता टोली गठन भएको वार्ता टोलीका संयोजक रविलाल आचार्यले जानकारी दिए । अबको एक हप्ताभित्र गाउँपालिकाको केन्द्र विवाद समाधान हुनेछ । सबै पक्ष संगको आपसी समझदारी र गाउँपालिकाबासीको हित हुने गरी केन्द्र तोक्ने संयोजक आचार्य बताउँछन ।
उनले भने,वार्ता टोलीले विवाद समाधान गरेर गाउँ कार्यपालिका बैठकमा पेस गर्नेछ । कार्यपालिकाले गाउँसभामा लिएर पास गर्नुपर्छ । यही तयारीमा वार्ता टोली घनिभु तछलफलमा जुटेको छ । ’ वार्ता टोलीले वार्ताका माध्यमबाट केन्द्र विवाद टुंग्याउन नसकेको खण्डमा चुनावी प्रक्रिया मार्फत केन्द्र तोक्ने गरि तयारी हुने संयोजक आचार्य बताउँछन । गाउँपालिका केन्द्र तोक्ने बिषयमा अल्झिदा कामकाज प्रभावित भएको स्थानीय बताउँछन ।

सम्बन्धित शीर्षक