स्थानीय निर्वाचनलाई भयरहित बनाउन सुझाव

आगामी बैशाख महिनाको ३० गते हुने स्थानीयतहको निर्वाचनलाई भयरहित बनाउनको लागि जुम्लाका सरोकारवालाले जिल्ला निर्वाचन कार्यालय जुम्लालाई सुझाव दिएका छन । उनीहरुले निर्वाचनलाई स्वच्छ,मर्यादित र भयरहित बनाउनको लागि सुझाव दिएका हुन । जिल्ला निर्वाचन कार्यालयले निर्वाचन दिवसको आयोजना गरेको निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा सरोकारवालाहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमलाई संवोधन गर्दै नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य पुर्णप्रसाद धितालले प्रजातन्त्रको सुन्दर पक्ष निर्वाचन भएकोले स्वच्छ,शान्तिपुर्ण र मर्यादित रुपमा निर्वाचन गर्नुपर्नेमा जोड दिए ।
निर्वाचनलाई निष्पक्ष,स्वच्छ र शान्तिपुर्ण बनाउन निर्वाचनको अलग्गै कानुन निर्माण हुनु पर्ने धारणा राखे । विभिन्न प्रलोभन भन्दा उचित काम देखाएर नागरिकमा चुनाव प्रचार शैली अपनाउनु पर्ने बताए । नेमकिपाका प्रतिनिधि राजेश्वर देबकोटाले निर्वाचन राज्यको निष्पक्ष पद्धति भएको बताए । निश्चित मापदण्डअनुसार निर्वाचन भएको खण्डमा धादली रहित हुने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष वेदवहादुर शाहीले मतदातालाई मतदाताशिक्षा दिनुपर्नेमा जोड दिए । यो वर्षको नारा ‘निर्वाचनमा सबै, सधैं सँगै’ भन्ने तय गरिएको छ । नेपालमा सर्वप्रथम वि.सं २०१५ फागुन ७ गते आम निर्वाचन प्रारम्भ भई वालिग मताधिकारको उपयोग गर्न पाएको दिनलाई स्मरण गर्दै आयोगले विसं २०७३ देखि फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको निर्वाचन अधिकारी महेश शर्माले बताए ।
अहिले पनि इलाका प्रशासन कार्यालय नराकोट र जिल्ला प्रशासन कार्यलय जुम्लामा नामावली संकलन भइरहेको छ । साउन ३ गतेबाट जुम्लाका सबै गाउँपालिकामा पुगेर नामावली संकलन गरिएको थियो । जुम्लामा कुल ६९ हजार ३ सय ३५ जना मतदाता छन् । ३६ हजार १ सय ९८ पुरुष र ३३ हजार १ सय ३७ महिला मतादाता रहेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।
बाहिरी जिल्लाका २ सय २४ ले मतादाता नामावली भरेका छन । जसमा पुरुष तर्फ १ सय ३० तथा महिला तर्फ ९४ जना रहेका छन् । २०७४ साल भन्दा अहिले ६ हजार २ सय ७२ मतादाता थपिएका छन । महिला ३ हजार ४० र ३ हजार २ सय ३१ पुरुष थपिएका हुन ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाइले निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन सबैको साथ सहयोग आवश्यक रहेको बताइन । अहिले जुम्लामा ३ वटा मतदान स्थल थपिएको छ । दुईवटा कनकासुन्दरी एक वटा गुठिचौर गाउँपालिकामा थपिएको उनी बताउँछिन् । जुम्लामा ७९ वटा मतदानस्थल रहेका छन । सबै मतदान स्थलगत अवलोकन गरेर गृहमन्त्रालयमा पत्राचार समेत भइसकेको उनले बताइन् ।

सम्बन्धित शीर्षक