सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज सरकार विस्तार गर्दैछन्। उनले माओवादीका दुई जना र कांग्रेसका दुई जनालाई सपथ खुवाउने तयारी गरेका छन्।
मुख्यमन्त्री शाहीले आज चलिरहेको प्रदेश सभाको नवौं अधिवेशन अन्तर्गतको पाँचौ बैठकपछि माओवादीका मूर्ति चोरीको मुद्दामा कैद सजाय र जरिवाना तिरेका गैरसांसद छिरिङ डम्दुल लामा ‘कार्चेन’ र जाजरकोटका सांसद गणेशप्रसाद सिंहलाई माओवादीको सिफारिसमा मन्त्री नियुक्त गर्नेछन्।
स्रोतका अनुसार साँझसम्म शाहीले कार्चेनलाई भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री र सिंहलाई ऊर्जा तथा जलस्रोत मन्त्रीमा नियुक्त गर्नेछन्। कार्चेन मन्त्रीको शपथ खान सुर्खेत आइसकेको उनीनिकट स्रोतले उकेरालाई जानकारी दियो।
यस्तै कांग्रेसबाट निवर्तमान सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीलाई सोही मन्त्रालय र दलका सचेतक हिमबहादुर शाहीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयमा नियुक्त गर्नेछन्।
मूर्ति चोरेर जेल सजाय भोगेका गैरसांसद कार्चेन लामालाई मन्त्री बनाउन प्रचण्डको निर्देशन
गैरसांसदलाई मन्त्री बनाउने प्रचण्डको निर्देशनविरुद्ध माओवादी सांसद विष्ट: ‘काल पल्कियो भन्ने त्रास बढ्यो’
‘आज साँझसम्म मुख्यमन्त्रीज्यूले चार जना मन्त्रीलाई नियुक्त गर्दैहुनुहुन्छ। यदि माओवादीमा फेरि केही विवाद भएर मन्त्री नपठाए कांग्रेसका दुई जना मात्रै भए पनि नियुक्त गर्नुहुनेछ,’ मुख्यमन्त्री सचिवालय स्रोतले भन्यो, ‘बरू मन्त्रालयको खाकामा भने केही फेरबदल हुनसक्छ।’
नेकपा समाजवादीले भने केन्द्रले गरेको दुई मन्त्रालयको निर्णय कार्यान्वयन नगर्ने भन्दै आज मन्त्रीको नाम नपठाउने भएको छ। यद्यपी समाजवादीले पाउने दुई मन्त्रालयअन्तर्गत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादुर शाही मन्त्री नियुक्त भइसकेका छन्।
अब बाँकी रहेको एक उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय समाजवादीलाई छोड्ने भएको छ।
समाजवादीका तीनै जना सांसदलाई मन्त्री बनाउनुपर्ने अवस्था आएपछि पार्टीले अहिले नै मन्त्रीको नाम नपठाउने निर्णय गरेको हो।
सांसद देवी ओलीले पनि मन्त्री बन्न लबिङ गरिरहेका कारण एक जनालाई मात्रै नपठाउने र काठमाडौंमा नेतृत्त्वसँग छलफल गरेपछि मात्रै निर्णय गर्ने जनाउँदै आएको छ।
त्यसका लागि आज कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर शाही, उपमहसचिव प्रकाश ज्वाला काठमाडौं हिँडेका छन्।
कर्णाली प्रदेश सभामा सत्ता गठबन्धन माओवादीका १२, नेपाली कांग्रेसका ६ र नेकपा एकिकृत समाजवादीका तीन जना सांसद् छन्। यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका १३ जना र राप्रपाका एक जना सांसद छन्।