हुम्ला । जिल्ला अस्पताल हुम्लाले स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि हुँदा आकस्मिक बाहेक अन्य सेवा कटौती गरेको छ । एकै दिन जिल्ला अस्पताल हुम्ला र सिमकोट गाउँपालिकामा कार्यरत सात जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि हुँदा अर्को सूचना जारी नभएसम्मका लागि सेवा कटौती गरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले बताउनुभयो ।
शुक्रबार देखि कोरोना संक्रमण परीक्षण गर्दा स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि हुँदा सोही दिनबाट नै लागु हुने गरी एक हप्ताका लागि आकश्मिक बाहेक अन्य सेवा बन्द गरी गरिएको हो । आकस्मिकबाहेक अस्पतालबाट प्रदान हुने सबै प्रकारका सेवा बन्द गरिएको छ । आकस्मिकका बिरामी, प्रशूति सेवा, कोरोना परीक्षण र खोप लगाउने, इमरजेन्सी, फिभर क्लिनिक लगायतका सेवाहरु सन्चालनमा रहेका छन् भने अन्य ओपिडी लगायतका सेवा कटौती गरिएको कार्यालयका प्रमुख सिंहले बताउनुभयो । अस्पतालबाटै संक्रमण फैलन सक्ने देखिएपछि नागरीकको बढी हुने अधिकांस सेवा बन्द गरिएको हो ।
जिल्ला अस्पताल हुम्लामा ३१ जनालाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा नौ जनामा संक्रमण पुष्टि भएको थियो । सात जना स्वास्थ्यकर्मी सहित एक जना सुरक्षाकर्मी रानीवन स्थित क्वारेन्टाइनमा बसेका छन् भने अन्य एक जना मालपोत कार्यालयका कर्मचारी आफ्नै घरमो बसेको जानकारी प्राप्त भएको छ ।
खोप अभियान तीब्र
देशभर फैलिएको कोरोना संक्रमणको तेस्रो लहरका संक्रमित हुम्लामा देखिदा स्वास्थ्य सेवा कार्यालय हुम्लाले खोप अभियानलाई तीब्र पारेको छ । पहिलो दिन नौ जनामा संक्रमण देखिदा जिल्लाका सातवटै गाउँपालिकामा रहेको स्वास्थ्य संस्था माताहतमा रहेको खोप केन्द्रद्धारा खोप लगाउने अभियानलाई तीब्र पारिएको हो । स्वास्थ्य सेवा कार्यालयमा खोप पर्याप्त मात्रामा रहेको हुँदा उक्त अभियानलाई तीब्र पारिएको कर्यालयका प्रमुख प्रेम सिंहले बताउनुभयो ।
जिल्ला अस्पताल हुम्लामा आइतबार साँझसम्म ९१ जनाले कोरोना विरुद्धको भेरोसेल, कोभिडसिल्ड खोप लगाएको प्रमुख सिंहले बताउनुभयो । ८० जनाले भेरोसेल र ११ जनाले कोभिशिल्ड खोप लगाएका हुन् । यस्तै डाडाफयाँमा रहेको स्वास्थ्यचौकीको खोप केन्द्रबाट महिला ५५ जना र पुरुष २० जना गरेर ८५ ले भेरोसेल खोप लगाएको जानकारी प्राप्तभएको छ ।
यसैगरी १२ देखि १७ सम्मका बालबालिकालाई मोडर्ना खोप दिइएको छ । पुरुष ५२ र महिला ५४ जनालाई खोप लगाइएको हो । आज उक्त खोप केन्द्रबाट १ सय ७१ ज्नाले भेरोसेल र मोडर्ना खोप लगाएका हुन् ।
सदरमुकाममा रहेको जिल्ला अस्पतालमा मात्रै नभएर सातवटै गाउँपालिकामा रहेका ग्रामिण वस्तिहरुमा खोप अभियानलाई तीब्र पारीएको छ । जिल्लामा भेरोसेल, कोभिशिल्ड र १२ देखि १७ वर्ष उमेर समूहका लगायतकालाई खोप लगाउने कार्य तीब्र पारिएको हो ।
यस्तै हेप्का, स्याडा, डाडाफया, बरगाउँ, ठेहे, खार्पुनाथ अदानचुली, सर्केगाड लगायतका स्थानमा समेत खोप अभियानलाई पारीएको उहाँले बताउनुभयो । कोरोना रोकथामको भरपर्दो माध्यम खोप भएकाकले यो अभियानलाई तीब्र गतिमा सञ्चालन गरिएको हो । जिल्लामा कोरोना संक्रमणको त्रास बढिरहेका बेला जिल्लाका सात वटै गाउँपालिकाहरुले सञ्चालन गरिरहेका खोप केन्द्रमा खोप लगाउन आउने सर्वसाधारणको घुइँचो लाग्न थालेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् ।
गत वर्षको माघ महिनामा त्यति वास्ता नगरेका सर्वसाधरणहरुले यो पटक खोप लगाउने कार्यमा नागरीकको आर्षण बढ्दै गएको उहाँले जानकारी दिनुभयो । यसअघि खोप अभियानमा न्यून मात्र उपस्थित हुने गरेकोमा पछिल्लो समय खोप लगाउन पुग्नेहरुको संख्या बढेको देखन्छ ।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख सिंहका अनुसार पछिल्लो समय सरकारले सार्वजनिक सेवा लिँदा र हवाई यात्रा गर्दा खोप कार्ड अनिवार्य गरेपछि खोप लगाउनेको संख्या बढेको छ । विगतमा सर्वसाधारणलाई बोलाएर खोप लगाउनु पर्ने गरिएकोमा अहिले भने सूचनाका आधारमा आफै खोप लगाउन आउने गरेका छन् । हुम्लाको नाम्खा, खार्पुनाथ, अदानचुली, ताँजाकोट र चंखेली गाउँपालिकामा खोप अभियान जारी रहेको छ । जिल्लामा खोपको मौज्दात राम्रो रहेकाले खोप अभियानमा कुनै असर नपर्ने स्वास्थ्य सेवा कार्यालय हुम्लाले जानकारी दिएको छ ।