२३ हजार बढी विद्यार्थीले लगाए मोडर्ना खोप

जाजरकोट । जिल्लामा २३ हजार २० जना बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको छ ।

लक्ष्य भन्दा बढी बालबालिकालाई सो खोप लगाइएको हो । पुस १२ गतेदेखि सञ्चालन गरिएको खोप अभियान जिल्लाका सात वटा स्थानीय तहका ७७ वटा वडाका विभिन्न दुई सय ५० विद्यालय तथा स्वास्थ्य संस्थामा खोप लगाइएको स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर शान्तबहादुर बुढाले जानकारी दिए ।

उनका अनुसार १२ देखि १७ वर्ष उमेर समूहका शत प्रतिशत बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडर्ना खोप दिएको छ । बारेकोटमा २ हजार ६ सय ३१, कुशेमा २ हजार ९ सय १०, जुनीचाँदेमा ३ हजार १ सय ४३, छेडागाडमा ५ हजार ९९, शिबालयमा १ हजार ४ सय ५६, भेरीमा ४ हजार ३ सय ११ जना र नलगाडमा ३ हजार ६ सय ५१ जना अर्थात १०२.०२ प्रतिशत बालवालिकाले मोडर्ना खोप लगाएका छन् ।

जाजरकोटमा गत २०७७ माघदेखि हालसम्म विभिन्न चरणमा गरी ८६ हजार २ सय ४४ जना नागरिकलाई पहिलो र ६५ हजार ४ सय ७२ जनालाई कोभिड–१९ विरुद्धको दोस्रो मात्रा खोप लगाएको बुढाले बताए ।

पहिलो चरणमा बारेकोटमा ८ हजार ८ सय ८९, कुशेमा ८ हजार ४८, जुनीचाँदेमा ९ हजार ९३, छेडागाडमा १७ हजार २ सय ८३, शिबालयमा ५ हजार ८ सय ८६, भेरीमा २१ हजार ५ सय २४ जना र नलगाडमा १५ हजार ७ सय १५ जना अर्थात ६५.२० प्रतिशत तथा दोस्रो चरणमा ४९.४३ प्रतिशतले कोभिड–१९ विरुद्धको खोप लगाएको खोप सुपरभाइजर बुढाको भनाई छ ।

अहिले कोरोना विरुद्धको खोप अभियान जिल्लाका सात वटै पालिकामा निरन्तर रुपमा भइरहेको छ । पछिल्लो समयमा कोरोना विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारी बनाउनका स्थानीय पालिकाहरूको सक्रियता बढेर गएको बुढाको भनाई छ ।

अहिले विभिन्न खोप केन्द्रहरूमा कोरोना विरुद्धको खोप लिनेहरूको संख्यामा वृद्धि भएको छ । पछिल्लो पटक देखा परेको कोरोनाका नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण भेटिन थालेपछि जाजरकोटका सर्वसाधारणमा खोप लिनु पर्ने रहेछ भन्ने मान्यताको विकास हुन थालेको देखिन्छ । खोप नलिएका १८ वर्षमाथिका नागरिकलाई खोप लगाइने व्यवस्था गरिएको छ ।

सम्बन्धित शीर्षक