जुम्लामा महिलाको नाममा जग्गा पास गर्ने बढे

जुम्ला । राजस्व छुट व्यवस्थाले जुम्लामा महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढेको छ । चालु आर्थिक वर्षको अहिलेसम्म १२५ जना महिलाको नाममा जग्गा पास भएको छ । चालु आर्थिक वर्षमा १२५ वटा महिलाको नाममा जग्गा पास भएको मालपोत कार्यालय जुम्लाले जनाएको छ । जिल्लाका सात गाउँपालिकाका ५४ जना र एक नगरपालिकाका ७१ जना महिलाको नाममा जग्गा रजिस्ट्रेसन भएको कार्यालयका प्रमुख नरेन्द्रबहादुर रोकायाले बताउनुभयो ।

‘गाउँपालिकाभन्दा नगरपालिकाका महिलाहरूको नाममा बढी जग्गा रजिस्ट्रेसन भएको छ,’ कार्यालय प्रमुख रोकायाले भन्नुभयो, ‘राजस्वमा छुट हुने भएकाले सम्पत्तिमा महिलाको पहुँच बढ्दै गएको छ ।’ पछिल्लो समयमा सरकारले नै महिलाका नाममा जग्गा पास गर्दा राजस्व छुट दिने प्रावधान ल्याएपछि महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढेको कार्यालय प्रमुख रोकायाले बताउनुभयो ।

नगरपालिकाका महिलाको नाममा जग्गा पास भएमा २५ प्रतिशत र गाउँपालिकाका महिलाको नाममा जग्गा रजिस्ट्रेसन भए राजस्वमा ५० प्रतिशत छुट रहेको कार्यालयले जनाएको छ । महिलाको नाममा जग्गा रजिस्ट्रेसन हुँदा १० लाख ७३ हजार ८३५ रुपैयाँ राजस्वमा छुट भएको कार्यालय प्रमुख रोकायाले बताउनुभयो ।

दलित र अपांगता भएकालाई २५ प्रतिशत छुट

मालपोत कार्यालयमा जग्गा रजिस्ट्रेसन गर्ने दलित समुदाय र अपांगता भएकालाई राजस्वमा २५ प्रतिशत छुट दिने व्यवस्था पनि रहेको छ । चालु आर्थिक वर्षको हालसम्म ३१ जना दलितका नाममा जग्गा रजिस्ट्रेसन भएको मालपोत कार्यालय जुम्लाले जनाएको छ ।

९९ लाखभन्दा बढी राजस्व संकलन

चालु आर्थिक वर्षको कात्तिकसम्म जुम्ला मालपोत कार्यालयले ९९ लाख ९६ हजार ५६१ रुपैयाँ राजस्व संकलन गरेको छ । जसमध्ये जग्गा रजिस्ट्रेसनतर्फ ६७ लाख ९० हजार ३१२ रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै पुँजीगत लाभकरतर्फ ३१ लाख १८ हजार ८८३ रुपैयाँ संकलन भएको छ । विविधतर्फ ८७ हजार ३६६ रुपैयाँ राजस्व उठेको छ । पहिलो चौमासिकमा लक्ष्यभन्दा बढी राजस्व संकलन भएको कार्यालय प्रमुख रोकायाले बताउनुभयो ।

मोठ फाँटमा एकजनामात्रै कर्मचारी

मालपोत कार्यालय सेवाग्राहीको बढी घुइँचो हुने सरकारी कार्यालयमध्ये पर्छ । मालपोत कार्यालयको पनि मोठ फाँट सबैभन्दा बढी सेवाग्राहीको घुइँचो लाग्ने फाँट हो । तर, जुम्लाको मालपोतको यो फाँट एकजना कर्मचारीको भरमा चलेको छ । मोठ फाँटका कर्मचारी देवेन्द्र जिसीले एक्लै नै जुम्लाका साबिकका ३० वटा गाविसका मोठ भिडाउने, रुजु गर्ने, रोक्का, राजीनामा, दाखिल खारेज, नामसारीको टिप्पणी र अन्य संशोधन टिप्पणीलगायत सबै काम गर्दै आउनुभएको छ । सिँजा गाउँपालिकाबाट कम्प्युटर अपरेटर पठाएकोले काम गर्न केही राहत पुगेको मालपोत कार्यालय जुम्लाले जनाएको छ ।

सम्बन्धित शीर्षक