सुनौलो हजार दिन भित्रका आमासंग उपाध्यक्ष कार्यक्रम लिएर गाउँमा

तिला गाउँपालिका जुम्लाका उपाध्यक्ष बिष्णु बुढा सुनौलो हजार दिन भित्रका आमासंग उपाध्यक्ष कार्यक्रम लिएर गाउँमा निस्केकी छिन । उनी पोषण सहजकर्ता,स्वास्थ्यकर्मी लिएर पोषण अवस्थाको बारेमा सहजीकरण गर्न गाउँ निस्केकी हुन ।
पहिलो बर्ष फिल्टर बाड्यौँ ।दोस्रो बर्ष अण्डा, तेल र साबुन बाड्यौँ । तेस्रो बर्ष पोषिलो कोशेली लिएर गाउँ गयौँ,उपाध्यक्ष बुढाले भनिन्,‘एकोहोरो सरकारले बाँडेर मात्र नहुँदो रहेछ । अब गर्भवती तथा सुत्केरी आमालाई आफैले पोषिलो खानेकुरा बनाउनको लागि सुझाउँदै गाउँगाउँमा पुगिरहेका छौँ । ’ पोषिलो कोशेली स्वरुप धान उत्पादन नहुँने क्षेत्रमा स्थानीय जातको मार्सी चामल,धान उत्पादन हुँने क्षेत्रमा चना दिइएको थियो । त्यो संगै बच्चालाई न्यानो कपडा,तोरीको तेल र सुनौलो हजार दिन भित्रका आमाको पहिचान दिलाउने झोला दिइएको थियो ।
उपाध्यक्ष बुढाले भनिन्,‘अब यहाँका आमा र बच्चाको पोषण अवस्था सधार गर्न उनीहरुलाई जिम्मेवार बनाउनुपर्छ भन्ने ठान्यौँ, यो बर्ष सचेतना फैलाउन गाउँमै पुग्न थालेका छौँ । ’ तिला गाउँपालिका १ रारागाउँ देखि यो कार्यक्रम शुरु भएको छ ।
यो बेला सुरक्षित सुत्केरी हुन अनिवार्य स्वास्थ्य संस्थामा जानु पर्ने,नियमित चेकजाँच गर्दै खानपानमा ध्यान दिनु पर्ने,बच्चालाई नियमित स्तनपान गराउदै पोषिलो खानेकुरा खुवाउनको लागि हरेक आमा तयार हुनु पर्ने जस्ता सन्देश दिइएको छ ।
अहिले हाम्रो समाजमा गेडागुडी जन्य बस्तु बेचेर चाउचाउ विस्कुट किन्ने गरिन्छ । आलु बेचेर सोयाबडी किन्ने गरिएको छ । सिमी,फापर बेचेर मैदा किनेर रोटी बनाएर खुवाउने गरिन्छ,यो कार्य पटक्कै राम्रो भएन उपाध्यक्ष बुढाले भनिन्,‘आफ्नै खेतबारीमा उत्पादित पोषिलो खानेकुरा खुवाउनुपर्छ । यहाँ उत्पादित अन्नबाली मिसाएर बनाएको लिटो जाउलोको प्रयोग गर्नुपर्छ भन्ने मनसायले गाउँगाउँमा पुग्ने कार्य शुरु भएको छ । ’
तिला १ रारागाउँमा ९७ जना सुनौलो हजार दिन भित्रका आमा छन । उनीहरुलाई स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर पोषणको महत्वका बारेमा सहजीकरण गरिएको छ । कुपोषणबाट आफु बच्न र बच्चालाई समेत बचाउनको लागि आग्रह गरिएको छ ।
स्वास्थ्यचौकी जुम्लाकोटमा इन्चार्ज स्वास्थ्यकर्मी बिराजु जिसीले सुनौलो हजार दिनभित्रका आमालो पोषणको महत्वका बारेमा निकै संवेदनशिल हुनुपर्ने बताए । उनले भने,‘८० प्रतिशत दिमागको विकास २ बर्षभित्र हुन्छ । यो बेला पोषिलो आहारको आवश्यक पर्छ । सुरक्षित स्तनतपानको जरुरत पर्छ । स्तनपान र पोषणबारे गर्भवती तथा सुत्केरी आमा जानकार हुनुपर्छ । ’
उनले स्थानीयस्तरमा उत्पादन हुने गेडागुडी,माछामासु,अण्डा जस्ता पोषिलो खानेकुराको प्रयोग गर्न सुझाव दिए । उनले थपे,‘आमा र बच्चा सुपोषित हुनुपर्छ । कुपोषणको चक्र तोड्नु पर्छ । अनिमात्र हाम्रो गाउँबस्ती समाज स्वस्थकर बन्छ । ’
तिला गाउँपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रम अन्र्तगत हरेक वडामा सुनौलो हजार दिन भित्रका आमा संग भेटघाट र पोषिलो खानेकुराको महत्वका बारेमा सहजीकरण गर्न थालिएको पोषण सहजकर्ता जसुकला रावत बताउँछिन ।
पहिले सुत्केरी हुँदा समेत गोठमै बस्ने चलन थियो । कमसल खानेकुरा दिने,खानपान र आराममा ध्यान नदिने गरिन्थ्यो, पहिले भन्दा अहिले निकै सुधार भइसकेको छ,पोषण संयोजक रावतले भनिन्,‘अझै पनि सुनौलो हजार दिनभित्रका आमाको स्वास्थ्य बारेमा निकै जिम्मेवार हुन आवश्यक छ । उनीहरु एक्लैले सबै काम गर्न सक्दैनन । अभिभावक र छरछिमेकले समेत सघाउनुपर्छ । ’
यो कार्यक्रम गाउँपालिका भित्रका सबै वडामा सञ्चालन हुनेछ । पोषण अवस्था,पोषिलो खानेकुरा,पोषणको महत्व,स्तनपानका आसनबारे जानकारी दिने देखि गर्भवती र सुत्केरी आमाको अनुभव समेत लिने गरिएको छ । पोषण र पोषिलो खानेकुरा बारेमा गाउँमा पुगेर सचेतना जगाउन थालेपछि स्थानीय महिला उत्साहित छन ।
महिला स्वास्थ्य स्वयमसेविका गोइली बुढा जब सम्म महिला सचेत हुदैनन, तब सम्म कुपोषणको चक्र तोड्न नसकिने भएकोले गाउँपालिकाले ल्याएको कार्यक्रम निकै समयानुकुल भएको बताइन ।
उनले भनिन्,‘गाउँमा महिला स्वास्थ्य स्वयमसेविकाले नियमित गर्भजाँच,सुरक्षित सुत्केरी,आइरन चक्कीको प्रयोग देखि पोषिलो खानेकुराका बारेमा बारम्बार भनिरहेका त छौँ । तर यो पटक गाउँपालिका आफै गाउँमा पुगेर सहजीकरण गर्न थालेपछि सहज बनेको छ ।

सम्बन्धित शीर्षक