कर्णाली भित्रिने नाकामा कडाइ गर्न मुख्यमन्त्री शाहीको निर्देशन

सुर्खेत। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले कोरोनाको तेस्रो लहर रोकथामका लागि प्रदेश भित्रिने नाकाहरुमा कडाइ गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री शाहीको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै उनले नाकाहरुमा कडाइ गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन् ।

‘भारतमा कोरोना संक्रमणको दर बढेपछि घर फर्किने कर्णालीबासीको संख्या पनि बढेको छ । सीमा नाकामा तत्काल कडाइगर्न वैठकबाट निर्देशन दिएको छु’ मुख्यमन्त्री शाहीले भने । मुख्यमन्त्री शाहीका अनुसार कोरोनाको सम्भावित तेस्रो लहर रोकथामका लागि प्रदेश सरकारले पूर्व तयारी समेत थालेको छ । त्यसका लागि प्रदेशमा प्रवेश गर्ने नाकाहरुमा होल्डिङ सेन्टर स्थापना गर्नेदेखि एम्बुलेन्सको बन्दोबस्त गर्ने निर्णय गरिएको छ ।

सुर्खेतको छिन्चुमा होल्डिङ सेन्टर निर्माण गर्ने र भारत लगायत छिमेकी मुलुकबाट प्रदेश भित्रिने सम्पूर्ण व्यक्तिको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्ने निर्णय गरिएको छ । त्यस्तै प्रत्येक जिल्लामा कोेभिड विशेष एम्बुलेन्स तयारी अवस्थामा राख्र्ने, एम्बुलेन्सहरु अपुग भए खरिद् प्रक्रिया अगाडि बढाउने निर्णय समेत गरेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

बाह्य मुलुकबाट आउने कर्णालीका नागरिकमध्ये सडक पूर्वाधार पुगेका जिल्लाका भए सम्बन्धित जिल्लामा पुर्‍याउने र सडक नपुगेको जिल्लाका मानिसलाई सुर्खेतको होल्डिङ सेन्टरमा राख्ने व्यवस्था गर्ने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । मुख्यमन्त्री शाहीले सबै तहका स्वास्थ्य संस्थारुलाई कोभिड प्रतिकार्यका लागि उच्च सतर्कताका साथ क्रियाशील रहन निर्देशन दिएका छन् । भौगोलिक विकटता, जनसंख्या लगायतका सूचकलाई आधार मानेर स्थानीय तहहरुमा समावेशी बजेट वितरण गरिने छ ।

सम्बन्धित शीर्षक