चिसोमा नुहाउन तातोपानी धारा

जुम्लामा दिन प्रतिदिन चिसो बढ्दै गएपछि स्थानीयहरू चिसो छल्न तातोपानी धारामा नुहाउन जाने गरेका छन् । पुस लागेसँगै तातोपानी धारामा नुहाउने मानिसको घुइँचो लाग्न थालेको हो ।

अहिले तातोपानी गाउँपालिकास्थित तातोपानी पोखरीमा नुहाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ । यो वर्ष तातोपानीमा नुहाउन आउनेहरूका लागि धारा व्यवस्थित गरिएको छ । नुहाउन व्यवस्थित बनाउन टिकट काटिएको तातोपानी पर्यटकीय विकास केन्द्रले जनाएको छ । केन्द्रका अनुसार धारामा नुहाउन आउने जिल्लावासीलाई २० रुपैयाँ र जिल्ला बाहिरसँग ४० रुपैयाँ शुल्क लिने गरिएको हो ।

चिसोको समयमा तातोपानी धारामा झन्डै एक सय मासिन नुहाउन आउन गरेको स्थानीय जगत डाँगीले बताए । ‘मंसिरको दोस्रो सातादेखि नै कुण्डमा नुहाउन आउनेको भीड लागेको हो,’ उनले भने, ‘अहिले धारामा नुहाउन आउनेहरूको लुगा र सामान राख्न लकरको व्यवस्थासमेत गरिएको छ ।’ उनका अनुसार मानिस विभिन्न चर्मरोग निको पार्ने विश्वासमा पनि तातोपानीमा नुहाउन आउने गरेका छन् ।

तातोपानी धारानजिकै होटल व्यवसाय गरिरहेका नरेन्द्र बुढाले चैतसम्म तातोपानी धारामा नुहाउनेहरूको भीड लाग्ने बताए । ‘सौख, मनोरञ्जन र विभिन्न रोग सन्चो गराउन मानिसहरू तातोपानीमा नुहाउन आउँछन्,’ उनले भने । पोखरी एउटै भएकाले पुरुष र महिलासँगै एउटै धारामा नुहाउनुपर्दा समस्या छ । उनले एक पटकमा कति जनालाई नुहाउन पठाउने, टिकट काटेपछि कति समय नुहाउन पाउनेलगायतका नियम बनाउन जरुरी रहेको बताए ।

तातोपानी समुद्र सतहदेखि २ हजार ६ सय मिटर उचाइमा अवस्थित छ । तातोपानी जिल्ला सदरमुकाम खलंगाबाट झन्डै ८ कोष पश्चिममा पर्छ । तातोपानीको पोखरीमा ३र४ घण्टा डुबुल्की मारेर नुहाउँदा छालामा घाउ खटिरा आउने, पेटका रोगहरू निको हुने तथा हाडजोर्नी दुख्नेजस्ता समस्या हटेर जाने गरेको जनविश्वास छ ।

सम्बन्धित शीर्षक