सुर्खेत। कर्णाली प्रदेशका दश जिल्ला मध्ये हुम्ला बाहेक अरु सबै जिल्लाहरुमा लागुऔषधको कारोबार बढेको छ । जसमध्ये प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा लागुऔषधको सबैभन्दा बढी कारोबार हुने गरेको पाइएको छ । पछिल्लो २८ महिनाको अवधिमा सुर्खेतबाट मात्रे एकसय ७२ जना लागुऔषधका कारोबारीहरु पक्राउ परेका छन् ।
प्रक्राउ परेका मध्ये १८ जना महिला छन् । त्यस्तै दैलेखबाट २१ जना, सल्यानबाट १४ जना, जुम्लाबाट ३०, कालीकोटबाट पाँच, मुगुबाट २६, जाजरकोटबाट दश, रुकुमपश्चिमबाट आठ र डोल्पाबाट दुई जना प्रक्राउ परेको परेका छन् । प्रक्राउ परेका अधिकांश व्यक्तिहरु १५ देखि ३५ बर्ष उमेर समूहका छन् ।
‘नियन्त्रणमा लिइएका कारोबारी र भरियाहरु प्रायः युवाहरु छन्’ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले भने, ‘गाउँकाभन्दा शहरका युवाहरु लागुऔषधमा फसेको छन् ।’ प्रहरीका अनुसार पक्राउ पर्नेमा अधिकांश लागूऔषधको ओसारपसार गर्ने काममा संलग्नहरु (भरिया) छन् ।
गलत साथीभाईको संगतका कारण युवाहरु लागुऔषधको कुलतमा फस्दै गएको उनले बताए । लागुऔषध मध्ये अधिकांश युवाहरुले ट्वाब्लेट प्रयोग गर्ने गरेका छन् । ओसार-पसार र प्रयोग गर्न सहज भएका कारण अधिकांश युवाहरुले ट्याब्लेट प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । ट्याब्लेटपछि चरेस, अफिम, गाँजा र ब्राउनसुगरको प्रयोग र कारोबार हुने प्रहरीले बताउँछन् ।