काेराेनाकाे पूर्व तयारीमा लाग्न मुख्यमन्त्री शाहीकाे निर्देशन

सुर्खेत । मुख्यमन्त्री जीवनबहादुर शाहीले काेराेनाकाे संभावित तेस्रो लहर राेक्नका लागि पूर्व तयारीमा लाग्न सराेकारवालाहरूलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री शाहीले जनशक्ति ब्यवस्थापनमा सरकारले तयारी गरिरहेकाे बताउँदै स्थानीय तह र स्वास्थ्य संस्थाहरूलाई काेराेना महामारीकाे पूर्व तयारीमा जुट्न निर्देशन दिए । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशकाे मुख्य प्रवेशद्वार भेरीगंगा नगरपालिकाकाे छिन्चुमा ५० बेडकाे सरूवा राेग अस्पताल निर्माणका लागि प्रक्रिया सुरू गरिएकाे बताए ।

`काेराेनाकाे संभावित तेस्रो लहरकाे सामना गर्नका लागि सराेकारवाला सबै निकाय तयारी अवस्थामा रहनुपर्छ,´ आईतवार मेहलकुना अस्पताल र छिन्चुकाे संक्रमण राेग अस्पताल निर्माण हुने स्थानकाे निरीक्षण गर्दै मुख्यमन्त्री शाहीले भने, `तीन तहका सरकारबीच सहकार्य र समन्वय गरेर संभावित महामारीलाई राेक्न पहल गर्नुपर्छ ।´

मुख्यमन्त्री शाहीले सुर्खेतसहित सल्यान, जाजरकाेट, रूकुम, डाेल्पामा अक्सिजन अभाव हुन नदिनका लागि मेहलकुनामा प्रदेशकै ठूलाे अक्सिजन प्लान्ट स्थापना गरिएकाे बताए । मुख्यमन्त्री शाहीले अब कर्णालीमा अक्सिजन अभाव नहुने बताए । `सुर्खेतसहित रूकुम, दैलेख, कालिकाेटलगायतका जिल्लामा अक्सिजन प्लान्ट स्थापना गरिएका छन्,´ उनले भने, `अब कर्णालीमा अक्सिजनकाे अभाव हुँदैन् ।´
मुख्यमन्त्री शाहीले कर्णाली भित्रिने मुख्य नाकाहरूमा काेराेना परीक्षण गरेर मात्रै प्रदेशभित्र भित्र्याईने बताए । `सर्खेतकाे कुईनेमा अस्पताल सन्चालनमा छ, बबईबाट आउने कर्णालीबासीका लागि छिन्चुमा क्वारेन्टाइन बनाउँदैछाैं,´ उनले भने, `सल्यानकाे कपुरकाेट नाकामा पनि आवश्यक तयारी थालिएकाे छ ।´

गुर्भाकाेट नगरपालिकाका मेयर हस्त पुनले कर्णालीकाे आधा जनसंख्यालाई सेवा दिईरहेकाे मेहलकुना अस्पताललाई जनशक्ति, पूर्वाधार र ओैषधिजन्य उपकरणले सम्पन्न बनाईनुपर्ने बताए । उनले काेराेनाकाे तेस्रो लहरकाे सामना गर्नका लागि अहिल्यैदेखि तयारी अवस्थामा लाग्नुपर्ने बताए । मेयर पुनले अस्पताल सन्चालन ब्यवस्थापन समितिलाई पूर्णता दिन प्रदेश सरकारसँग माग गरे । मेयर पुनले कर्णालीकै ठूलाे अक्सिजन प्लान्ट गुर्भाकाेटमा स्थापना प्रक्रियामा रहेकाे बताउँदै काेराेना महामारीमा यसले ठूलाे सहयाेग पुर्याउने बताए ।

सम्बन्धित शीर्षक