दैलेख : नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले गाउँमा सिंहदरबारको अधिकार आएको नभई भ्रष्टाचार आएको बताएका छन्। उनले संघीयताले सिंहदरबारमा भएको भ्रष्टाचार गाउँमा पुर्याएको बताए। नेपाल कम्युनिस्ट पार्टी दैलेखले बिहीबार गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ‘प्रकाण्ड’ले संघीय व्यवस्थाका कारण भ्रष्टाचार झनै मौलाएको बताए। संघीय व्यवस्थामा जनताका समस्याभन्दा पनि राजनीतिक व्यक्तिका समस्या पूरा गर्न लाग्ने गरेकाले यस्तो अवस्था देखिएको बताएका हुन्।
‘प्रजातन्त्र जनताको जीवनमा देखिनुपर्ने हो। नागरिकको स्थिति ज्यूका त्यू राखेर केन्द्रदेखि स्थानीय सरकार सञ्चालकले आफ्नो मर्जी गर्ने गरेका छन्। लोकतान्त्रिक व्यवस्थामा महिलाहरू बलात्कृत हुँदा समेत न्याय पाउँदैनन्’, उनले भने। यस्तै प्रकाण्डले अहिलेका सत्तासीन दलका नेताहरूले मालिक रिझाएर कुर्ची ताक्ने गरेकाले जनताका समस्या समाधान हुन नसकेको बताए। संघीय व्यवस्थाले नागरिकका समस्या समाधानभन्दा पनि पुँजीवादी व्यक्तिका समस्या पूरा गरेको बताए।
उनले विगतका आन्दोलनको उद्देश्य अहिलेको संघीय व्यवस्था नभएको बताए। दुर्गमका बासिन्दालाई विभिन्न आशा देखाएर आन्दोलन गरेको भए पनि पुँजीवादी सोच भएका केही व्यक्तिका कारण वाचा पूरा हुन नसकेका बताए। विभिन्न बहानामा गरिने चुनाव जनता लुट्ने बाहेक अन्य कुनै उपाय नभएकाले आफ्नो पार्टीको मुख्य एजेन्डा जनमतसंग्रह भएको प्रकाण्डको भनाइ छ। उनले भने, ‘चुनावको कुनै अर्थ छैन। यसबाट देश लुट्ने गिरोह मात्र जन्मिने गरेका छन्।’
‘प्रकाण्ड’ले देशमा एमसिसीले दुर्घटना निम्त्याउने बताएका छन्। अमेरिकाले आफ्ना विरोधी राष्ट्रलाई ठेगान लगाउनका लागि एमसिसी नामको नाटक रचेर नेपाललाई उपयोग गर्न खोजेको बताउँदै यसबाट सबै सचेत रहनुपर्ने उनले आग्रह गरे। जनताका लागि बोल्दा तत्कालीन (नेकपा) सरकारले आफ्नो पार्टीलाई प्रतिबन्ध लगाएको बताउँदै उनले एनसेल जस्ता ठूला कम्पनीबाट कर उठाए नेपालमा एमसिसीको भन्दा धेरै बजेट उपलब्ध हुने र विकासे गति अघि बढाउन सकिने बताए।
उनले जनताको जीवनमा शान्ति लागु हुनुपर्ने बताउँदै सरकारसँग गरिएको तीनबुँदे सम्झौता कार्यान्वयन नभए सरकारले ठूलो मूल्य चुकाउनुपर्ने बताए। उनले भने, ‘सरकारसँग भएको सम्झौता हाम्रो पार्टीले लागु गरेको छ। सरकार पक्षबाट सम्झौताको विषयमा चासो दिएको देखिँदैन। यसबाट सरकार शान्तिप्रति जवाफदेही छैन भन्ने प्रस्ट हुन्छ।’
उनले माओवादी केन्द्रको अधिवेशनमा प्रचण्डद्वारा प्रस्तुत प्रतिवेदनको सार भनेको नेपालमा समाजवाद आउँदैन भन्ने रहेको बताए।