सुर्खेत । सुर्खेतकाे लेकवेशी नगरपालिका–४ मा कुलपूजाको नाममा महिलालाई पैताला चटाउने तीन जना पुरूष (धामी) धरौटी बुझाएर छुटेका छन्। सुर्खेत जिल्ला अदालतको फैसला अनुसार उनीहरू धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। निमित्त प्रवक्ता प्रहरी निरीक्षक कनक शाहीका अनुसार उनीहरू जनही एक लाख रुपैयाँ धरौटीमा छुटेका हुन्। महिलामाथि दुर्व्यवहार गरेको आरोपमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वडा नम्बर ७ का भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का मिलन ज्ञवालीलाई पक्राउ गरेको थियो।
प्रहरी प्रतिवेदनका आधारमा मुद्दा दर्ता गरी प्रहरीले उनीहरूमाथि अनुसन्धान गरेको थियो। आफ्नो अनुसन्धान सकिएपछि प्रहरीले सरकारी वकिलमार्फत् पुस १६ गते अदालतलमा उनीहरूलाई बुझाएको थियो। उनीहरूले महिलामाथि अमानवीय व्यवहार गरेको भिडिओ सार्वजनिक भएको थियो। भिडिओ सार्वजनिक भएपछि प्रहरीले आफ्नो प्रतिवेदन तयार पारी मानव अधिकारकर्मी र महिला अधिकारकर्मीको सहयोगमा मुद्दा दर्ता गराएको थियो। पुस ४ गते सुर्खेतको लेकवेशी नगरपालिका–४ मा भएको कुलपूजामा उनीहरूले यस्तो व्यवहार गरेका थिए।
यो घटनामा पीडित भनिएकै महिलाकै माइतीघरमा भएको कुलपूजामा शरीरमा देउता चढेको निहुँँमा तीन जना पुरूषहरूले उनीमाथि अमानवीय व्यवहार गरेका हुन्। सार्वजनिक भिडिओका आधारमा उनीहरूमाथि मुद्दा चलाइए पनि पीडित भनिएकी महिलाले भने जाहेरी नै दिन मानेकी थिइनन्। उनले प्रहरीसँगको सोधपुछका क्रममा पनि आफूमाथि दुव्यर्वहार नभएको बयान दिएकी थिइन्।