दैलेख । सेना र दैलेखको इतिहाससँग जोडिएको सुन्दरी तोप ५० वर्षपछि बुधवार दैलेख ल्याइएको छ । नेपाली सेनाको पश्चिम कमान्डले ‘सुन्दरी तोप’ दैलेख पठाएपछि बुधवार दैलेख ल्याएको हो ।
वि.स. २०२८ सालमा भोकमरी परेपछि धान्न नसक्दा तत्कालीन समयमा जिल्लास्थित नेपाली सेनाको ज्वाला दल गणसँगै सुन्दरी र अर्गा तोप पनि सुर्खेत लगिएको थियो ।
सुर्खेत लगिएको ‘सुन्दरी र अर्गा तोप’ मध्ये बुधवार सुन्दरी तोप दैलेख ल्याइएको छ भने अर्गा अझै गुमनाम रहेको छ ।
सङ्घीयतापछि राजनीतिक दल, नागरिक समाज लगायत जिल्लावासीले दैलेखसँग जोडिएको ऐतिहासिक तोपहरू फिर्ता हुनुपर्ने माग राखेपछि स्थानीय सरकारले खोजी सुरु गरेको र सफल पनि भएको नारायण नगरपालिका १ का वडाध्यक्ष तीर्थनारायण श्रेष्ठ बताउनुभयो ।
तोप अहिले नेपाली सेनाको इन्द्र दल गुल्म काँडा चौरमा राखिएको छ । कोत गढीमा मर्मत तथा जीर्णोद्धारको काम सकिएपछि तोपलाई कोत गढीमा राखिने इन्द्र दल गुल्मका गुल्मपति सेनानी दिनेश लामाले जानकारी दिनुभयो ।
तोप पुर्नःस्थापनाले दैलेखको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने पत्रकार भुपेन्द्र शाहीको भनाई छ ।