गणेश रावत
जुम्ला । भारी हिमपातका कारण बन्द नाग्म गमगढी सडक खण्ड खुलाउनको लागि डोजर प्रयोग गरिएको छ । कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भएको थियो । भारी हिमपातले सडक बन्द हुदा विहानैदेखि डोजर लगाएर हिउँ पन्छाउने कार्य सुरु भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले जानकारी दिए ।
सडकमा बाक्लो हिउँ जमेपछि तीन दिनदेखि नाग्म गमगडी सडकमा सवारीसाधन चल्न सकेका छैनन् । हिमपातले सडक बन्द छ । यातायात ठप्प छ । कहिले घाम लाग्ने त कहिले बादल लाग्ने भइरहेको छ ।
मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले भने, ‘घाम लागेपछि मात्र सडक खुलाउने बिषयमा पहल भइरहेको छ ।’ नाग्म गमगढी सडकको घुच्ची लेक र भुलभुलेमा बाक्लो हिउँ जमेपछि सडक ठप्प भएको हो । त्यो क्षेत्रमा दुई फिटसम्म हिउँ जमेको छ ।
नेपालगन्ज सुर्खेतदेखि मुगु जिल्लाको लागि छुटेका सवारीसाधन जुम्लाको गुठिज्युला र कालिकोटको नाग्म बजारमा रोकिएका छन् । प्रमुख जिल्ला अधिकारी महतले भने, ‘छिटोभन्दा छिटो सडक खुलाउने प्रयत्न भइराखेको छ। संभवत छिटै सडक खुलेर जीवनयापन सहज बनाउने तयारी भइरहेको छ ।’ जुम्लाको प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले नाग्म गम्गढी सडकको जुम्ला खण्डमा कुनै समस्या नरहेको बताइन् ।
उनले भनिन्,‘ डोजरले धमाधम काम गरिरहेको छ । एक दुई दिनभित्र खुल्ने बताइन । यो सडक पक्की नबनेकोले हिउँमा हिउँ जमेर ठप्प हुने गरेको छ । बर्षा याममा हिलोले यात्रा गर्न निकै सास्ती भइराखेको छ । जुम्ला कालिकोट जिल्लाको सिमाना नाग्म बजार देखि ९३ किलोमिटर दुरी रहेको यो सडक स्तरउन्नतीको लागि पटक पटक बजे आएपछि सुधार हुन सकेको छैन ।