राष्ट्रपति भण्डारी भोली जुम्ला आउँदै, आज सबै तयारी पुरा

गणेश रावत,
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रमको उद्धाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी भोलि जुम्ला आउँदैछिन्। सो अवसरमा उनले क्वाटर र एकेडेमिक भवनको शिलान्यास गर्ने कार्यक्रम समेत रहेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण जुम्लाले पत्रकार सम्मेलनको आयोजना गरेर राष्ट्रपति भण्डारीको जुम्ला आउने कार्यक्रमको तालिका सार्वजनिक गरेको हो। रजिष्ट्रार नृपेन्द्र महतका अनुुसार राष्ट्रपति भण्डारी ठिक ११ बजे जुम्ला पुग्ने कार्यक्रम रहेको छ।

हेलिकप्टरमा आउन लागेकी भण्डारी नेपाली सेनाको नन्दाबक्स गणमा अवतरण गर्नेछिन्। स्वास्थ्यमन्त्री विरोध खतिवडा र शिक्षामन्त्री देवेन्द्र पौडेल आउने भने पनि व्यस्तताका कारण नआउने भएका छन्। राष्ट्रिपति कार्यालय र प्रतिष्ठानका बीच आपसी समन्वयमा कार्यक्रम तालिका बनेको हो। उनले भने, ‘विहान ११ देखि सवा ११ बजेसम्म एकेडेमिक ब्लकको शिलान्यास हुनेछ। त्यो लगत्तै एमबीबीएस लगायतको शैक्षिक कार्यक्रमको शिलापत्र अनावरण हुनेछ।’ सो अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको बीउ रोप्न पहल गर्ने कर्णाली प्रदेश सभा सदस्य तथा पुर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, पूर्व पर्यटन राज्यमन्त्री बलबहादुर महत लगायत २२ जनालाई प्रसंसा पत्र र दोसल्ला ओढाइनेछ।

प्रतिष्ठानको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा अगाडि बढाउनको लागि आवश्यक जग्गा उपलब्ध गराउने ५१ जनालाई कदरपत्र प्रदान गरिनेछ। प्रतिष्ठान स्थापनाकाल देखिका पूर्व पदाधिकारीहरुलाई सम्मान पत्रका साथ सम्मान गर्ने कार्यक्रम रहेको रजिष्ट्रार महत बताउँछन्। एमबीबीएसमा १९ जना, बिपिएचमा ८ जना, बिएनएसमा १६ जना, बिफार्माका ८ जना र बिएमएसमा ११ जना भर्ना भएका छन्। स्कलरसीपका विद्यार्थी मात्र भर्ना भएको प्रतिष्ठानले जनाएको छ। राष्ट्रपति जुम्ला आउने भएपछि उच्च सतर्कता अपनाइएको छ। सदरमुकाम खलंगाका सबै सडकमा सरसफाइ गरिएको छ।

सम्बन्धित शीर्षक