सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आयोगले दिएका सुझावहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित सराेकारवाला सबैलाई निर्देशन दिएका छन । आयोगले हरेक वर्ष वार्षिक प्रतिवेदनमै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सुझावहरू दिने गरेपनि पनि कार्यान्वयन पक्ष कमजोर रहेको उनले बताएका हुन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले आयोगको प्रतिवेदनमा भ्रष्टाचार बढ्दै गएको र सुशासन कमजोर बन्दै गएको उल्लेख गरे । अनियमितता नै हुन नदिन सम्बन्धित निकायले कानुनसम्मत आफ्ना कामकारबाही अघि बढाउनुपर्ने उनको सुझाव छ । उनले भने, “‚थानीय तहका उजुरी बढ्दो क्रममा छन । अन्य शिक्षा, स्वास्थ्य, भूमि, वनलगायतका क्षेत्रमा पनि त्यस्तै अवस्था छ । आयोगले बर्सेनि सुझाव दिए पनि कार्यान्वयन राम्रो हुन सकेको छैन । सराेकारवाला निकायका प्रमुखलाई प्रभावकारी कार्यान्वयनमा जोड दिन आग्रह गर्छु ।”
उनले कार्यालयले सेवा प्रवाहलाई प्रभावकारी गराउन अनुगमन तथा प्रविधिलाई प्रयोगमा ल्याउन आग्रह गरे । उनले देशमा सुशासन कायम गर्न एकल प्रयासबाट नभएर सामूहिक प्रयास हुनुपर्ने बताए । आयोगले मात्र भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने भन्दै उनले सबै पक्ष जिम्मेवार र जवाफदेही भएर अगाडि बढे भ्रष्टाचार नियन्त्रण हुने र सुशासन कायम गर्न सकिने उल्लेख गरे ।
आयोगमा पर्ने उजुरी हेर्दा सार्वजनिक तथा सरकारी सम्पत्तिको संरक्षणमा ध्यान नदिइएको देखिन्छ भन्दै यसतर्फ सराेकारवालालाई ध्यान दिन अख्तियार प्रमुख राईले आग्रह गरे । वीरेन्द्रनगर–७ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको आफ्नै भवन तयार भएको छ । नौ कराेड ३१ लाख ८७ हजार ५७० रुपियाँ लागतमा उक्त भवन निर्माण गरिएको बताइएको छ ।
करिब तीन वर्ष लगाएर मुख्य भवन र सहायक भवन गरी दुईवटा भवन निर्माण गरिएको छ । प्रशासन उपसचिव, प्राविधिक उपसचिवको कार्यकक्ष, अनुसन्धान अधिकृतहरूको कार्यकक्ष, इन्जिनियरिङ ल्याब, अपाङ्गतामैत्री शौचालय, ईवटा लिफ्ट, सीसी क्यामेरा जडानलगायतका संरचना बनाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले कर्णालीका १० र लुम्बिनी प्रदेशकाे रुकुमपूर्व गरी ११ वटा जिल्ला हेर्दै आएको छ ।