दशैँ लक्षित बजार अनुगमनकाे चटाराे

सुर्खेत । नजिकिँदैं गरेको दशैं तिहार लगायतका चाडपर्वलाई लक्षित बजार अनुगमनकाे चटाराे बढेकाे छ । स्थानीय प्रशासनले चाडपर्वमा बढी सामानको माग र खपत हुने हुँदा बजारमा खाद्य वस्तुको कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने र नापतौलमा ठगी गर्नेजस्ता समस्या नहोस् भनेर बजार अनुगमनलाई तीव्रता दिएको हो ।

जिल्ला प्रशासन कार्यालयले जिल्लाभरी चाडपर्व लक्षित बजार अनुगमनलाई शुरू गरेकाे छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले नियमित बजार अनुगमन गर्ने गरे पनि चाडपर्वमा जिल्ला प्रशासनको नेतृत्वमा संयुक्त रुपमा बजार अनुगमन गर्ने गरिएको बताए ।

‘जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा खाद्य, प्रविधि तथा गुुण नियन्त्रण डिभिजन, नेपाल नापतौल तथा गुुणस्तर कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च, सुर्खेत उद्योग वाणिज्य संघसहितको संयुक्त अनुुगमन टोलीले नियमित रुपमा बजार अनुगमन गरिरहेको छ,’ उनले भने, ‘चाडपर्वमा सामानको माग र कारोबार पनि बढी हुने भएकाले मूल्य, सामानको गुणस्तरमा उपभोक्ता ठगीमा नपरुन् भनेर अनुगमलाई तीव्र पारिएको हो ।’

बढी खपत हुने खाद्यवस्तु, तरकारी, लत्ताकपडा, यातायातलगायतमा छुटाछुट्टै अनुगमन गर्ने गरि योजना बनाईएको उनकाे भनाइ छ । जिल्ला प्रशासनमा कुनैपनि उपभोक्तासँग जोडिएको उजुरी र गुनासो आउने बित्तिकै आकस्मिक अनुगमनमा जाने गरी तयारी अवस्थामा रहेकाे जिल्ला प्रशासन कार्यालय सूचना अधिकारी श्रीसम्शेर रानामगरले बताए । उनले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिनुका साथै शान्ति सुरक्षालाई चुस्त, दुरुस्त बनाईएको जनाए ।

सम्बन्धित शीर्षक