तिलाका ५५ सय बालबालिकाको हातमा स्वाध्ययन सामाग्री पुग्यो

तिला गाउँपालिका जुम्लाका विद्यालय जान नपाएका बालबालिकालाई स्वाध्ययन सामाग्री वितरण गरिएको छ । कोरोना भाइरस संक्रमणका कारण भएको बन्दाबन्दीले विद्यालयमा पढाई नभएपछि घरमा नै सिकाई क्रियाकलाप गर्न सकिने सामाग्रीको व्यवस्था गरिएकोे हो । तिला गाउँपालिकाले २७ वटा विद्यालयका बालबालिकालाई सिकाई सहजिकरणका लागि अभिभावकको सहयोगमा अध्ययन गर्न मिल्ने सामाग्री वितरण गरेको शिक्षा युवा तथा खेलकुद शाखा जुम्लाका सह–संयोजक दिपेन्द्र हमालले बताउनु भयो ।

स्वाध्ययन सामाग्री १ देखि १२ कक्षा सम्मका झण्डै ५५ सय बालबालिकालाई उपलब्ध गराईएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा १ देखि ५ का १२, ६ देखि ८ कक्षा ९, ९ देखि १० कक्षासम्मका ३, र कक्षा ११ र १२ का ३ वटा विद्यालयमा अध्ययनरत बालबालिकालाई घरमा नै गराउन सकिने क्रियाकलाप पुस्तिका उपलब्ध गराएको हो ।

सबै विषय समेटिएको एउटै पुस्तिका पठाएको भन्दै सह–संयोजक हमालले यसबाट अभिभावकले आफ्ना बालबालिकालाई सहज रुपमा सिकाई क्रियाकलाप गराउन सक्ने बताउनु भयो । हमालका अनुसार शिक्षा क्षेत्रमा छुट्याईएको बजेटबाट बालबालिकालाई उक्त सामाग्री उपलब्ध गराएको बताउनु भयो ।

२७ वटा विद्यालय मध्ये २४ वटा विद्यालयका बालबालिकाको हातमा पुस्तक पुगि सकेको हमालले बताउनु भयो । सीता मावि रारा, आधाभूत विद्यालय नाभीडाँडा र नारायण आधारभूत विद्यालय लम्री बाँहेक अन्य विद्यालयका विद्यार्थीको हातमा पुस्तक पुगि सकेको बताउनु भयो । नजिकका विद्यालयलमा पुस्तक पुग्न ढिलाई भएको हमालले जानकारी गराउनु भयो ।

विद्यार्थीको सिकाई सहजिकरणका लागि स्वाध्ययन सामाग्री वितरण लगायतका कार्यक्रमहरु संचालन गरि रहेको उहाँले जानकारी गराउनु भयो । कोरोनाको कहरले घरघरमा रहेका बालबालिकालाई शिक्षण सिकाई क्रियाकलाप ताजा राख्नका लागि स्वाध्ययन सामाग्रीले सहयोग पुगेको देउराली मावि जुम्लाकोटका प्रधानाध्यापक रामभजन यादवको भनाइ छ ।

पाठ्य पुस्तकसँग मिल्दोजुल्दो स्वाध्ययन सामाग्रीमा किताबमै लेख्न र अध्ययन गर्न मिल्ने सागाग्रीले विद्यार्थीको पढाईमा सहयोग पुगेको उहाँका भनाइ छ । कोरोनाको संक्रमण लामो समयसम्म रहदा घरमै बसेका बालबालिकाको पढाईमा स्वाध्ययन सामाग्रीले सहयोग गर्ने यादवले बताउनु भयो ।

घरमा बसेका बालबालिकाले गाउँपालिकाबाट वितरण भएको स्वाध्ययन सामाग्री अध्ययन गरे नगरेको बारेमा अनुगमन समेत गरिएको उहाँको भनाइ छ । वैकल्पिक शिक्षाका बारेमा विद्यार्थी र अभिभावकहरुका बिचमा छलफल समेत गरिएको उहाँले जानकारी गराउनु भयो । कोरोनाले सबै भन्दा बढी शैक्षिक क्षेत्रमा असर गरेको यादवको भनाइ छ ।

सम्बन्धित शीर्षक