काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनविरुद्ध दृढतापूर्वक उभिन पार्टी नेता कार्यकर्तालाई आह्वान गरेका छन्। ओलीले २१ दिनभित्र प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूले दल छनोट गर्न पाइने भनी निर्वाचन आयोगले जारी गरेको सूचनाबाट प्रभावित नहुन, पार्टीमा विभाजन ल्याउने प्रयासविरुद्ध दृढतापूर्वक उभिन र पार्टीको पक्षमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
निर्वाचन आयोगले एमालेबाट विभाजित भई माधव नेपाल नेतृत्वमा निर्माण भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा प्रवेश हुन चाहने एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यहरुले नयाँ दल गठन भएको २१ दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भई सनाखन गर्न सक्ने बताएको छ।
अध्यक्ष ओलीले सर्कुलर जारी गर्दै भनेका छन्, ‘पार्टी विभाजनको दुराशयबाट साथ हालै जारी अध्यादेशमा स्थानीय तहका जनप्रतिनिधिहरूले समेत दल त्याग गर्न सक्ने प्रावधान राखिएको छ। अध्यादेशको उक्त प्रावधान संविधानको अक्षर र भावना विपरीत रहेको निष्कर्षसहित बैठकले उक्त व्यवस्थाको कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ।’
एमाले र जसपा छाड्ने जनप्रतिनिधिलाई भदौ २२ गतेसम्म समय, आयोगमा सनाखत अनिवार्य |
सर्कुलरमा एमालेमा लामो समयदेखि समस्या, कटुता र असमझदारी पैदा हुँदै आएको र यसले पार्टीलाई गम्भीर रुपले प्रभावित गरेको उल्लेख छ। ती समस्यालाई समाधान गर्न नेतृत्व तहबाट औपचारिक र अनौपचारिक हिसाबले प्रयत्न गर्दागर्दै नेता नेपालले व्यक्तिगत स्वार्थको कारणले पार्टी विभाजन गरेको उल्लेख छ।
‘पार्टीभित्रको विवाद समाधान गर्नको लागि ०७८ जेठ १ गते १० सदस्यीय कार्यदल गठन भएको थियो। कार्यदलले लामो प्रयास र गहन छलफल पश्चात् असार २७ गते ‘नेकपा (एमाले) मा विद्यमान समस्या समाधानसम्बन्धी प्रस्ताव’ (१० बुँदे प्रस्ताव) तयार गर्यो‚’ सर्कुलरमा उल्लेख छ‚ ‘कार्यदलबाट असार २८ गते अध्यक्ष कमरेड केपी शर्मा ओली समक्ष प्रस्तुत उक्त प्रस्तावलाई पार्टी स्थायी कमिटी र केन्द्रीय कमिटीले यसअघि नै ग्रहण र अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरिसकेको थियो। यद्यपि‚ यसबीचमा माधवकुमार नेपालसहितका केही व्यक्तिहरूले उक्त प्रस्तावलाई अस्वीकार गर्दै पार्टीबाट अलग्गिएको यथार्थ पनि सर्वविदितै छ।’