महिला शिक्षिका मनोपरामर्श कर्ता तयार हुँदै

 

जुम्लाका तिनवटा स्थानीय तहका महिला शिक्षिकालाई मनोपरामर्श कर्ता तयार गर्न लागिएको छ । विद्यालयमा आइपर्ने मनोसामाजिक समस्यालाई हल गर्नको लागि मनोपरामर्श कर्ता तयार गर्न लागिएको हो । हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाका १७ जना महिला शिक्षिकालाई क्याड नेपाल जुम्लाले मनोपरामर्श कर्ता तयार गर्न लागेको हो ।

उनिहरुलाई जुम्लाको स्टार होटलमा सात दिने आवसीय तालिमको आयोजना गरि समुदायमा आधारित मनोसामाजिक सुस्वास्थ्य सम्बन्धि तालिममा सहभागि गराईएको छ । विद्यालय स्तरमा देखिने मनोसमाजिक समस्या हल गराउन सहयोग गर्ने उद्देश्य रहेको क्याड नेपाल जुम्लाका परियोजना अधिकृत जयलक्ष्मी चौलागाईले बताउनु भयो ।

उहाँका अनुसार १७ जना महिला शिक्षिका मनोपरामर्श कर्ता तयार हुने जानकारी दिनुभयो । विद्यालयमा अध्ययन गर्ने किशोरीहरु महिनावरी, बाल विवाह, लैङ्गिक हिंसा र अन्य कुराले बढी प्रभावित हुने भएकाले उनिहरुलाई मनोपरामर्श आवश्यक पर्ने उहाँको भनाइ छ । विद्यालयमा आएको बेला किशोरी महिनावरी हुँदा उनिहरुमा देखिने समस्या हल गर्न महिला नै उपयोगी हुने भएकाले महिला शिक्षिकालाई परामर्श कर्ता तयार गर्नको लागिएको उहाँको भनाइ छ ।

सात दिनको अवधिमा महिला शिक्षिकाले मनोसामाजिक समस्याका आधारभूत कुरा सिकि सक्ने चौलागाईले बताउनु भयो । किशोरीमा देखिने समस्यालाई महिला शिक्षिकाले हल गर्न सक्ने उहाँको भनाइ छ । चौलागाईका अनुसार विद्यालयमा किशोरीको संख्या बढी हुने र उनिहरुमा देखिने विभिन्न समस्याहरु मनोपरामर्श कर्ता नभएकै कारण कतिपय समस्याहरु हल हुन नसकेको बताउनु भयो ।

तिन वटा स्थानीय तहका महिला शिक्षिकालाई तालिम दिईएको हुनाले यस्ता समस्या हल गर्न सहज हुने उहाँको बुझाइ छ । यता तालिमका सहभागि सिंजा गाउँपालिकामा रहेको फुटासिला आधारभूत विद्यालयका शिक्षिका शान्ता धितालले मनोसामाजिक समस्याका बारेमा हल गर्न सक्ने क्षमता विकास हुने अपेक्षा राख्नु भएको छ ।

यो किसिमको तालिममा पहिलो पटक सहभागि हुनु भएका उहाँले विद्यालय स्तरमा आउने मनोसामाजिक समस्याबाट पिडित विद्यार्थीका लागि अचुक औषधि हुने उहाँले बताउनु भयो । अधिकांश विद्यार्थी पढी रहेको बेला टोलाउने, प्रश्न सोध्न खोज्दा झर्किने र शिक्षक देखेमा डराउने हुँदा उनिहरुलाई परामर्श दिन सजिलो भएको उहँको भनाइ छ ।

अर्का महिला शिक्षिका धनलक्ष्मी धितालका अनुसार विद्यार्थीमा देखिने मनोसामाजिक समस्यालाई केहिहद सम्म निराकरण गर्न सक्ने सीप प्राप्त भएको बताउनु भयो । मनोसामाजिक समस्या भएका विद्यार्थीलाई उपचार गर्दा पनि निको नहुने भएकाले काउन्सीलिङ्गको आवश्यकता पर्ने उहाँको भनाइ छ ।

त्यसका लागि महिला शिक्षिकालाई छनौट गरी तालिममा सहभागि हुने अवसर प्रदान गरेकोमा उहाँले क्याड नेपाल जुम्लालाई धन्यवाद दिनु भएको छ । तालिमका प्रशिक्षक सुमन धिमालका अनुसार हरेक समाजमा मनोपरामर्श कर्ताको आवश्यक रहेको बताउनु भयो । विद्यालयमा देखिने समस्यालाई समाधान गर्नको लागि महिला शिक्षिकाले पाएको तालिमबाट मनोसामाजिक समस्या हल गर्न सहयोग पुग्ने उहाँको भनाइ छ । विद्यालय स्तरबाटै मनोपरामर्शका बारेमा सचेतना दिन सहयोग पुग्ने धिमालले जानकारी गराउनु भयो ।

प्लान इन्टरनेश्नल नेपालको सहयोग र आत्मसम्मानका लागि सहकार्य क्याड नेपाल जुम्लाको आयोजनामा समुदायमा आधारित मनोसामाजिक सुस्वास्थ्य सम्बन्धि तालिमको आयोजना गरिएको हो ।

सम्बन्धित शीर्षक