सुर्खेत । प्रदेश प्राप्तीमा ज्यान आहुती दिने शहीदहरुको बलिदानीलाई उच्च कदर गर्न सरकार कटिवद्ध रहेको आन्तरिक मामिला तथा कानून मन्त्री सीता नेपालीले बताएकी छन् । चार जनाले दिएको बलिदानी र सयौं घाइते नागरिकहरुको संघर्षबाट कर्णाली प्रदेश स्थापना भएको स्मरण गर्दै मन्त्री नेपालीले शहीदहरुको बलिदानीलाई सरकारले उच्च कदर गरिरहेको उल्लेख गरिकी हुन् ।
शहीद यामबहादुर विसी प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री नेपालीले प्रदेश प्राप्तीमा ज्यान दिएका शहीदहरुको सम्झनामा सरकारले सार्वजनिक विदा दिएको जानकारी दिइन् । शहीद पार्क निर्माण गरिएको र परिवारका सदस्यहरुलाई रोजगारीमा जोड्ने सरकारको योजना रहेको मन्त्री नेपालीको भनाई छ ।
‘परिवर्तनका लागि भएका विभिन्न आन्दोलनहरुमा ज्यान गुमाएका शहीदहरुको विवरण संकलन गर्ने तयारीमा छौं,’ मन्त्री नेपालीले भनिन्, ‘विवरणले शहीद परिवारका सदस्यहरुको अवस्था बुझेर आवश्यकताका आधारमा कार्यक्रमहरु सञ्चालन गर्ने मन्त्रालयको तयारी छ ।’ शहीद दिवसकाे अवसरमा घरघरमा दीपावली गर्न मन्त्री नेपालीले आग्रह गरेकी छन् । कार्यक्रममा मन्त्री नेपालीले शहीद यामबहादुर विसी स्मृति ग्रन्थ विमोचन गरेकी थिइन् ।