जातीय विभेद गर्ने जुम्ला सिँजा गाउँपालिका ६ का वाध्यक्ष कालीबहादुर बुढा र उनको छोरा नविन बुढा धरौटीमा रिहा भएका छन । उनीहरुलाई जिल्ला अदालत जुम्लाले धरौटीमा छाड्न आदेश गरेको हो । जिल्ला अदालत जुम्लाका न्यायाधीश शिवप्रसाद खनालको एकल इजलासले जातीय विभेद गर्ने वडाध्यक्ष र उनका छोरालाई धरौटीमा छोडेको जिल्ला अदालत जुम्लाले जनाएको छ ।
वडाध्यक्ष बुढालाई १ लाख १० हजार र उनका छोरा नविनलाई १ लाख धरौटीमा छोडेको जिल्ला अदालत जुम्लाका निमित्त श्रेस्तादार तथा सुचना अधिकारी चेतराज पन्तले बताए । ’अभियोग पत्रको माग दावी सजायको हकमा दुई महिना देखि दुई वर्षसम्म कैद र बीस हजार देखि दुई लाख रुपैयाँ सम्म जरिवाना हुन सक्ने गरी भएको छ,’ उनले भने, ’तीन वर्षभन्दा कम कैद सजाय हुने मुद्दामा न्यायालयले धरौटी लिने गरेको हुन्छ । ’
अध्यक्ष कालीबहादुर बुढा र उनका छोरा नविन बुढाले सिंजा गाउँपालिका –६ काँडागाउँका विवेन्द्र नेपालीलाई जातीय विभेद गरेका थिए ।
गएको असार २५ गते पीडित नेपालीले जिल्ला प्रहरी कार्यालय जुम्लामा जातीय विभेद गरेको आरोपमा वडाध्यक्ष बुढा र उनका छोरा नविनलाई प्रतिवादी बनाइ जोहेरी दिएका थिए। जातीय भेदभाव तथा छुवाछूत सजाय कसूर मुद्दाका प्रतिवादी वडाध्यक्ष बुढालाई १ लाख १० हजार र उनका छोरा नविनलाई १ लाख धरौटी माग गरि पुर्पक्षको लागि न्यायिक प्रक्रियामा राखिएको पन्तले बताए ।
पीडित नेपालीले जिल्ला प्रहरी कार्यालयमा जातीय विभेदको जाहेरी दर्र्ता गरेका भएपनि प्रहरीले वडाध्यक्ष बुढालाई अनुसन्धानको प्रक्रियामा सहभागि नगराई सिधै अदालतमा उपस्थित गराएको हो । जाहेरी दर्ता भएबाट वडाध्यक्ष बुढा फरार थिए । वडाध्यक्षका छोरा नविन बुढालाई प्रहरीले १० दिन नियन्त्रणमा लिएर अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले आफ्नो अनुसन्धान पुरा गरेपछि वडाध्यक्ष र उनका छोरालाई अदालमा पेश गरेको थियो ।













