काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेश सरकारमा रहेका आफू पक्षका नेताहरूलाई चुनावमा जिताएर ल्याउने जिम्मेवारी आफ्नो भएको बताएका छन्। उनले दृढताका साथ अघि बढ्न आग्रह पनि गरेका छन्।
एमबीबीएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट भएका आशिक झालाई सम्मान गर्न मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेता नेपालले ती नेताको साथमा आफू भएको बताए।
‘अहिले हाम्रो कर्णाली प्रदेशका मन्त्रीजीले बताउनुभयो कि उहाँहरुले बडो हिम्मतका साथ, साहसका साथ गलत कुराका विरुद्धमा उठ्ने आँट गर्नुभयो। उहाँहरुको प्रदेश सभाको सदस्यता धरापमा छ। र, मैले भनिसकेको छु। तपाईंहरुको संस्था धरापमा छ भने, यदि तपाईंहरुको संस्था खारेज भयो भने अनि उपनिर्वाचन भयो भने तपाईंहरुलाई जिताएर ल्याउने जिम्मेवारी मेरो हुनेछ। त्यसो हुनाले तपाईंहरु दृढताका साथ अगाडि बढ्नुस्। हामी साथमा छौं’, उनले भने।
नेपाल अघि सोही कार्यक्रममा करणाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मर बहादुर थापाले सम्बोधन गरेका थिए। उनले गत वैशाख ३ गते पार्टीको फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए। थापासहित एमालेका प्रकाश ज्वाला, नन्दसिंह बुढा र कुर्मराज शाहीले पनि मत दिएका थिए। जसकारण मुख्यमन्त्री शाहीले २२ मत पाएका थिए।
नेता नेपालले आफूहरु दृढताका साथ अघि बढ्ने बताए। ‘हामी अगाडि बढ्छौं, दृढताका साथ। शीर निहुर्याउने छैनौं। कसैको टाङमुनि छिर्नेवाला छैनौं। अँध्यारो सुरुङमा जानेवाला छैनौं। दम्भी, अहंकारी र गलत ढंगले चल्नेहरुलाई चुनौती दिएर नै तिनलाई माथ गरेरै अगाडि बढ्नेछौं’, उनले भने।