‘अध्यादेशबाट बजेट पास गर्ने कर्णाली सरकारको रणनीति असंबैधानिक’

सुर्खेत । कर्णाली प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट पास गर्ने रणनीतिमा प्रदेश सरकार लागेको छ । तर ‘अध्यादेशबाट बजेट पास गर्ने रणनीति असंबैधानिक’ भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाएको छ ।

यता प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुर प्रसाद सिक्देलद्धारा हस्ताक्षरित विज्ञप्तीमा कर्णाली प्रदेश सरकारको सिफारिसमा बुधबार राति १२ बजेदेखि चालु बजेट अधिवेशन अन्त्य भएको घोषणा गरिएको छ ।

बजेट अधिवेशन अन्त्य भएसँगै कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट अध्यादेशबाट पास गर्ने तयारी गरेको सरकारको प्रवत्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सीताकुमारी नेपालीले बताइन् । सरकारले संसदबाटै बजेट पास गराउन धेरै प्रयास गरेपनि प्रतिपक्ष सहमत नभएका कारण अध्यादेशबाट बजेट पास गर्ने तयारी गरेको उनको भनाइ छ । उनका अनुसार प्रदेश सरकारले शुक्रबारभित्रै अध्यादेशबाट बजेट पास गर्ने तयारी गरेको छ ।

तर यता नेकपा एमाले कर्णाली प्रदेशसभा दलले संसद बैठक चलिरहेको बेला एक्कासी बैठक अन्त्य गरी अध्यादेशबाट बजेट पास गर्न खोज्नु अलोकतान्त्रीक र असंबैधानिक निर्णय भएको दावी गरेको छ । ‘जतिबेला सदन छैन, सदन खोज्न सकिदैन वा संदनको बैठक बोलाउन सकिदैन त्यो बेला काम नरोकेर सरकार अघि बढ्नका लागि अध्यादेश ल्याउने संबैधानिक व्यवस्था हो’ एमाले संसदीय दल कर्णाली प्रदेशका नेता यामलाल कँडेलले भने, ‘तर बैठक गर्छु भन्दा भन्दाभन्दै संबैधानिक ढंकले प्रतिपक्षले निकास दिदाँदिदै सदन बन्द गरी अध्यादेशबाट बजेट ल्याउने निर्णय अलोकतान्त्रीक र असंबैधानिक हो ।’

प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसदमा बजेट प्रस्तुत भएयता १० पटक बैठक अबरुद्ध पारेको थियो । ७ पटक बैठक बसेर पनि कार्यसूचिमा प्रवेश नै नगरी स्थगित भएको थियो । भने ३ पटक एमालेको असहमतिका कारण सूचना टाँसेर बैठक स्थगित भएको छ । १० पटकसम्म प्रयास गर्दा पनि प्रतिपक्षले बजेट पास गर्न नदिएपछि बाध्य भएर अध्यादेश ल्याउने परिस्थिति आएको कर्णाली सरकारको दाबी छ ।

 

सम्बन्धित शीर्षक