कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा यसै शैक्षिक शत्र देखि एमबीबीएस कार्यक्रम शुरु हुने पक्का भएको छ । चिकित्सा शिक्षा आयोगले जुम्लामा एमबीबीएस लगायतका कार्यक्रम शुरु गर्ने निर्णय गरेसंगै अब कर्णालीमा एमबीबीएस कार्यक्रम शुरु हुने पक्का भएको हो ।
चिकित्सा शिक्षा आयोगका सुचना अधिकारी सेमन्तराज कोइरालाले जुम्लामा एमबीबीएस कार्यक्रम शुरु गर्ने निर्णय भइसकेको जनाए । चालु आर्थिक बर्षको शैक्षिक सत्रभित्र एमबीबीएस कार्यक्रम शुरु हुन्छ, प्रवक्ता कोइरालाले भने,‘ कोभिड–१९ का कारण प्रक्रियामा ढिलो भएको हो । यही शैक्षिक सत्रमा एमबीबीएस कार्यक्रम सञ्चालन हुन्छ,। ’ हाललाई एमबीबीएस सञ्चालन गर्न प्रतिष्ठानलाई झण्डै २५ सीट दिने गरी निर्णय भएको उनले जानकारी दिए । चिकित्सा शिक्षा आयोगले गरेका निर्णय एकदुई दिनभित्रै सार्वजनि गरिने प्रतिक्रिया दिए ।
एमबीबीएस कार्यक्रम शुरु हुने खबरले कर्णाली उत्साहित छ । प्रतिष्ठानका रेक्टर शिक्षाध्यक्ष डा. निरेश थापाले एमबीबीएस पढाई कर्णालीको विकासको काशेढुंगा भएको प्रतिक्रिया दिए । उनले बहुप्रतिक्षित एमबीबीएस कार्यक्रम सञ्चालनका लागि सरकारको सहयोग निकै महत्वपुर्ण रहेको बताउँदै अब कर्णालीमा डक्टरी पढाइले परिभाषा बदल्ने बताए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा हाल सम्म ८ वटा बिषयको पठनपाठन भइहेको छ । सर्टिफिकेट लेबलको पठनपाठन २०७१ सालदेखि शुरु भएको थियो । जसअन्र्तगत जनरल मेडिसिन,स्टाफनर्स,फार्मेसी पठनपाठन भइरहेकोछ ।
ब्याचुलर लेबलको पठनपाठन २०७५ सालदेखि शुरु भएकोमा बिपिएस र बिएमएस पठनपाठन भइरहेको छ । एमडीएमएसको पठनपाठन २०७७ सालदेखि शुरु भएको छ । एमडीजीपी इमरजेन्सी मेडिसिन, पेडाटिक्स र एमडी एनएएसथेसिया पठनपाठन भइरहेकोछ । सर्टिफिकेट तहमा अधिकांस विद्यार्थी सेवामा खटिसकेको शिक्षाध्यक्ष डा. निरेश थापाले जानकारी दिए । प्रतिष्ठानमा एक बर्षे कोर्ष अन्र्तगत एनएसथेसिया तालिम दिने गरिएको समेत उनले बताए । यहाँ उत्पादित जनशक्ति लोकसेवा आयोगमा समेत सफल भएको छ । उनले थपे,‘ नामचलेको स्वास्थ्य संस्थामा काम गरेर प्रसंसा बटुलिरहेका छन । यहाँ उत्पादन भएको जनशक्ति प्रति सबैको राम्रै बुझाइँ छ । ’
उनले भने,‘कर्णालीमा एमबीबीएस कार्यक्रम शुरु हुने बाटो खुलिसकेको छ । त्यही बाटो पछ्याएर कर्णालीले दक्ष डक्टर उत्पादन गर्ने सामाथ्र्य राख्नेछ । डक्टरी पढ्न कर्णाली आउने वातावरण सिर्जना भइसकेको छ । यो कार्यक्रमले कर्णालीको परिभाषा नै बदल्नेछ । ’
एमबीबीएस कार्यक्रमको लागि सबै तयारी पुरा भइसकेको छ । पुर्वाधार निर्माण,शिक्षक जनशक्ति र अस्पताल तयारी अवस्थामा छ । गत चैत महिनामा चिकित्सा शिक्षा आयोगको टोली जुम्लामा पुगेर एमबीबीएस पठनपाठनका लागि चाहिने आवश्यक सबै तयारीको अनुगमन गरेको थियो ।
‘एमबीबीएस कार्यक्रम सामाजिक,आर्थिक रुपान्तरणको कोशेढुंगा हो ।अब कर्णालीका सबै स्थानीयतहले यहाँ उत्पादन हुने डक्टर पाउनेछन । कर्णाली प्रतिष्ठानको पनि स्थानीयतहमा डक्टर चाहियो भनेर सम्झौता गर्न आवस भन्ने चाहना छ,’ शिक्षाध्यक्ष थापाले भने ।
उनले एमबीबीएस कार्यक्रम शुरु भएपछि दुई बर्षमा कर्णालीका सबै स्थानीय तहमा डक्टर उत्पादन गरेर पठाउन सकिने बताए । कर्णाली जस्तो विकट ठाउँमा सामाजिक उत्तरदायित्व बोध भएको जनशक्ति उत्पादन हुने बताए । उनले भने,‘यो जनशक्तिले कर्णाली जस्तो दुगर्म क्षेत्रमा खटिएर काम गर्न सकोस । पहिले कर्णाली कार्यक्षेत्र बनाएर आउन डक्टरले मानेका थिएनन । अब कर्णाली जस्तै दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा दिने डक्टर कर्णालीमा उत्पादन हुनेछन ।
पुर्व उपकुलपति डा. राजेन्द्रराज वाग्ले सबै जनाको अथक मेहनतले कर्णालीमा एमबीबीएस संभव भएको बताए । हामी सबै मिलेर काम गर्याँै । यो ठुलो उपलब्धि बन्यो । कर्णालीको लागि यो सौभाग्यको बिषय हो । ’
एमडीजीपी कार्यक्रम शुरु भएपछि एमबीबीएस कार्यक्रम ल्याउन सहज बनेको अनुभव सुनाए । म आउँदा सर्टिफिकेट लेबलको कार्यक्रम मात्र थिए । प्रतिष्ठानको आफ्नो कार्यक्रम थिएनन,‘ म आइसकेपछि ब्याचुलर लेवलको कार्यक्रम आयो । एमडिजीपी शुरु भयो । जसका कारणले एमबीबीएस पठनपाठनका लागि सहज बन्यो । ’
उनले अब कर्णाली स्वास्थ्य शिक्षाका हिसावले निकै अगाडी जाने विश्वास व्यक्त गरे । कर्णाली कुनै बेला डक्टर आउन नमान्दा कार्यालय सहयोगीले दिएको औषधिले चित्त बुझाउँथ्यो । अहिले कर्णालीमै डक्टरी उत्पादन गरेर सिंगो मुलुकलाई दिने हैसियतमा पुगेको छ ।