अक्सिजन नपाएर १४ को मृत्यु

रूपन्देहीमा मंगलबारदेखि अक्सिजन अभाव थियो । कोरोना संक्रमितको उपचार भइरहेका अस्पताल र सरोकारवालाले समस्याबारे सरकारी निकायलाई जानकारी गराइरहेका थिए । सामाजिक सञ्जालमा नागरिकले अक्सिजन सकिएपछि हुने खतराबारे अवगत गराइरहेका थिए ।

लुम्बिनी प्रादेशिक अस्पतालको भर्ना भएका जटिल खालका संक्रमित । तस्बिर : अमृता अनमोल/कान्तिपुर

सञ्चारमाध्यममा निरन्तर खबर प्रकाशन/प्रसारित थिए । मंगलबार साँझदेखि अभाव चर्केपछि अस्पतालका प्रशासकले मध्यरातिसम्म जिल्ला प्रशासनमा उपस्थित भएर अक्सिजन माग गरेका थिए । तर, कतै सुनुवाइ भएन ।

समस्याबारे जानकारी पाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘प्रदेशको उत्पादनका अतिरिक्त चितवन, पोखरा र विराटनगरबाट अक्सिजन रिफिल गरेर भए पनि समस्या समाधानको प्रयास जारी छ, लिक्विड पनि ल्याइँदै छ ।’ उनले भनेजस्तो तत्काल अक्सिजन व्यवस्थापन भएन ।

अक्सिजन अभावमा मंगलबार राति र बुधबार गरी १४ जनाको मृत्यु भएको छ । तीमध्ये तीन जनाको भैरहवास्थित भीम अस्पतालमा र बाँकीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।

कोरोना विशेष अस्पतालको आकस्मिक कक्ष र एचडीयूमा उपचाररत बिरामीका लागि अक्सिजनको जोहो गर्न नसक्दा मंगलबार राति ४ जना, बुधबार बिहान २ जना र अपराह्न ४ बजेतिर आईसीयूमा उपचाररत पाँच जनाको मृत्यु भएको छ । आकस्मिक कक्ष र एचडीयूमा उपचाररत ५ पुरुष र १ महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । मंगलबार अस्पताल भर्ना भएकी ७० वर्षीया महिला र २४ गते भर्ना भएका ५७ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

त्यसअघि मंगलबार राति ४ जनाको मृत्यु भएको थियो । गौतमका अनुसार मंगलबार भर्ना भएका ३८ वर्षीय पुरुष, २६ गते भर्ना भएका ३५ वर्षीय पुरुष, २६ गते भर्ना भएका ५२ वर्षीय पुरुष र २८ गते भर्ना भएका ४४ वर्षीय पुरुषको त्यही दिन राति मृत्यु भएको हो । उनीहरूमध्ये पाँच जना अस्पतालको आकस्मिक कक्ष र एक जना एचडीयूमा उपचाररत थिए ।

आईसीयूमा उपचाररत २९, ४४, ५२ र ५९ वर्षका व्यक्तिको मृत्यु भएको हो । तीमध्ये २९ वर्षीय पुरुष बुटवल–११ का हुन् । ती युवकले यही वैशाखमा विवाह गरेका थिए । उनी बिहेपछि कोरोना संक्रमण भई अस्पतालमा भर्ना भएका थिए । भीम अस्पतालमा मृत्यु हुनेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–११ का ३९ वर्षीय पुरुष, ओमसतिया–२ की ७० वर्षीया महिला र सिद्धार्थनगर–४ की ४४ वर्षीया महिला छन् ।

भीम अस्पतालले अक्सिजनको चरम अभाव झेल्नुपरेको छ । बिहानसम्म अक्सिजन आपूर्ति भएन । त्यसपछि स्वास्थ्यकर्मीले पुराना सिलिन्डरमा बचेको अक्सिजनले केहीबेर धाने । मध्याह्न अक्सिजन आपूर्ति नभएपछि स्वास्थ्यकर्मीले हारगुहार गर्न थाले । अस्पतालमा अक्सिजन लगाएर उपचाररत संक्रमितका आफन्तको रुवाबासी चल्यो । अस्पतालमा उपलब्ध अक्सिजन सकिएको र मौज्दात नभएकाले करिब ८ मिनेट अभाव हुँदा बुधबार बिहान सवा १० बजे ती तीन जनाको मृत्यु भएको हो ।

अक्सिजन नपाएर तीन जनाको मृत्यु भएको विषयलाई अस्पताल प्रशासनले ढाकछोप गर्ने प्रयास गरेको छ । ‘अस्पतालमा अभाव देखेर आफन्तलाई अक्सिजन नपाएर मृत्यु भएको लाग्न सक्छ,’ अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा. शकुन्तला गुप्ताले भनिन्, ‘अक्सिजन सकिनासाथ आइसकेको थियो ।’ अस्पतालमा अक्सिजन अभाव भइरहेको बारेमा आफूले मुख्यमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय, स्थानीय प्रशासन जताततै जानकारी दिएको उनले बताइन् ।

अस्पतालका एक स्वास्थ्यकर्मीले भने ती बिरामीलाई हाइफ्लो अक्सिजन आवश्यक थियो तर नपाएपछि छटपटाउँदै मृत्यु भएको बताए । ‘अक्सिजन सकिएपछि एकछिन त रुवाबासी नै मच्चियो,’ उनले भने, ‘सबै बिरामी स्वाँ–स्वाँ र फ्वाँ–फ्वाँ गर्न थाले ।’

सम्बन्धित शीर्षक