जुम्ला गुठिचौर गाउँपालिका–५ काडाखोला जलजलामा नेपालकै ठुलो फुजि स्याउ बगैँचा निर्माण

गुठिचौर एग्रो फार्म प्रा.ली.का अध्यक्ष मीनबहादुर भण्डारीको करिब ८ करोड व्यक्तिगत लगानीमा देशकै नमुना र ठुलो स्याउ बगैँचा निर्माण भएको हो ।  जुन बगैँचाको शुक्रवार कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव डा.राजेन्द्रप्रसाद मिश्रले फुजि स्याउ रोपेर बगैँचा प्रारम्भ भएको घोषणा गर्नुभयो ।
बगैँचा निर्माणका लागि ८७ जना स्थानीयबाट लिजमा लिइएको एक लाख ५० हजार बर्गमिटरमा फैलिएको नमुना बगैँचामा एकैसाथ शुक्रवार ३० हजार फुजि स्याउका बिरुवा रोपिएको छ ।  ८ करोड लगानीमा पूर्वाधार सहितको सुविधा सम्पन्न प्राविधिक जनशक्ति सहितको नमुना स्याउ बगैँचा निर्माण भएको छ ।
८७ जनाको १ लाख ५० हजार वर्ग मिटर जग्गा ३० वर्षका लागि लिजमा लिइएको छ ।
उक्त नमुना बगैँचाबाट कोरोना कहरकै बीच दैनिक करिब १ सय ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
स्याउ बगैँचालाई एक गौरवको परियोजनाका रुपमा हेरिएको छ । व्यक्तिगत लगानीमा बगैँचा निर्माण भए पनि कर्णालीको आर्थिक विकास, किसानको जीविकोपार्जन र रोजगारी सृजनामा कोशेढुंगा साबित हुने कृषि सचिव डा.राजेन्द्र प्रसाद मिश्रले बताउनुभयो ।
उहाँले भन्नुभयो, “दोस्रो लहरको कोभिडबाट देश आक्रान्त छ । फेरी उद्योग कलकारखाना बन्द भएका छन् । आर्थिक आम्दानी, उद्यमशीलताका काम रोकिएका छन् । तर देशकै नमुनाका रुपमा जुम्लामा ३० हजार बिरुवा रोपिएको स्याउ बगैँचा लकडाउनकै बीच स्थापना भएपछि खुसीको सन्देश दिएको छ ।”
देशको नमुना र कर्णालीको सान स्याउ बगैँचा उद्घाटनका लागि कोरोना कहरका बीच पनि जोखिम मोलेर आफु जुम्ला पुगेर  किसान, उद्यमी भण्डारीलाई हौसला दिन जुम्ला पुगेको कृषि मन्त्रालयका सचिव मिश्रले उल्लेख गर्नुभयो ।
साथै उहाँले नेपालको ठुलो स्याउ बगैँचा मात्र नभई कृषि तालिम केन्द्रका साथै फुजि स्याउ अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
नमुना बगैँचाबाट उत्पादित स्याउको स्याउको प्रशोधन, बजारीकरण, कृषि सडक निर्माण लगायतका प्राविधिक सहयोग भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले सहयोग गर्ने समेत प्रतिबद्धता उहाँले गर्नुभयो ।
व्यक्तिगत ८ करोड लगानी गरेर कृषि क्रान्ति सुरु गरी सरकारलाई कृषि क्षेत्रमा लगानी गर्न बाध्य बनाएको र उद्यमी मीन बहादुर भण्डारीको कृषि कर्मलाई थप बलियो र दिगो बनाउन प्रदेश सरकारले आवश्यकता अनुसार लगानी गर्नेमा दुई मत नहरको समेत उहाँले आश्वासन दिनुभएको छ ।
उहाँले कोरोनामा रोजगारी खोसियो, आम्दानी गुम्यो भनेर उर्वर बाँझो जग्गा टुलुटुलु हेरेर बस्ने युवाहरूका लागि गुठिचौर एग्रो फार्म प्रा.ली.का अध्यक्ष मीनबहादुर भण्डारी उत्प्रेरणाको स्रोत बनेको र भण्डारीको श्रमलाई प्रदेश सरकारले उच्च सम्मान गर्ने उल्लेख गर्नुभयो ।
बगैँचामा रोपिएका ३० हजार बिरुवा मध्ये कम्तीमा १ हजार बिरुवा मात्रै जोगाउन सके पछिको पेन्सन हुने समेत उहाँको भनाई छ ।
स्याउ सुपर जोन कार्यालय जुम्लाले नमुना स्याउ बगैँचा निर्माणका लागि ५ हजार बिरुवा र थोपा सिचाई गरी ४६ लाख बराबरको सहयोग गरेको सुपर जोनका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।
लामो प्रयास र सङ्घर्षबाट देशकै ठुलो बगैँचा निर्माण भएको र सरकारी निकाय सुपर जोनको मात्रै सहयोग रहेको उहाँको भनाई छ ।

सम्बन्धित शीर्षक