लक्ष्मी न्यौपाने,जुम्ला ।
जुम्लाको पातारासी गाउँपालिकाले खेलकुदका माध्यमबाट पालिकाको प्रतिष्ठा उचो बनाएको भन्दै ७ जना अल्ट्रा धाविकाहरुलाई सम्मान गरेको छ । उनीहरुलाई दोसल्ला ओढाएर बाजागाजा सहित घुमाइएको थियो । उनीहरुलाई नगद,सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको पालिका अध्यक्ष पुर्णसिंह बोहोराले जानकारी दिए ।
खेलाडी राष्ट्रका गहना हुन । उनीहरुको सम्मान र संरक्षण गर्नु स्थानीय सरकारको कर्तव्य पनि हो,अध्यक्ष बोहोराले भने,‘खेलाडीको हौसला र उन्नतीको लागि सदैंव सरकार साथमा छ भन्ने सन्देश फैलाउन लागिरहेका छौं ।’
अल्ट्रा धाविका सुनमाया बुढा,राममाया बुढा,कल्पना बुढा,रेजिना भण्डारी,समिता बुढा,मिमु बुढा,विश्वरुपा बुढा र दीपेन्द्र बोहोरा सम्मानित भएका हुन । खेलाडीहरु पातारासी गाउँपालिकाको गरिमा विश्वसामु फैलाइरहेका छन । उनीहरुको सम्मान, खेल क्षेत्रको विकास र प्रोत्साहनमा लागि परेको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले खेलाडीहरुलाई दोसल्ला ओढाएका थिए । उनले खेलाडीहरुको मनोबल उच्च बनाउने कार्यमा साथ दिनुपर्नेमा जोड दिए । जुम्लाका खेलाडीहरुले खेल क्षेत्र र देशको नाम विश्व सामु पु¥याउन सफल भएका छन् । प्रमुख जिल्ला अधिकारी शाहीले भने, ‘पातारासीमा बन्न लागेको हाइअल्टिच्युड ट्रेनिङ सेन्टर को काम अघि बढेमा खेलाडीहरु थप जन्मिने देखिन्छ ।’
नयाँ पुस्तालाई खेलक्षेत्रमा लाग्न प्रेरणा दिनुपर्ने उपाध्यक्ष जनमाया रोकायाको भनाइ छ । पातारासीको नाम सुनमाया र विश्वरुपाले विश्वस्तरमा चिनाइरहेका छन् । उनले भने, ‘पछिल्लो चरणमा जन्मिएका खेलाडीहरु पनि कम छैनन् । उनीहरुले पनि खेलक्षेत्रकोम माध्यमबाट जुम्लाको नाम रोशन गर्नेछन ।’ सम्मान कार्यक्रममा विश्वकृतिमानी धावक हरीबहादुर रोकायाको योगदानको समेत चर्चा गरिएको थियो ।