चन्दननाथका दुईवटा वडा कुपोषणमुक्त हुदैं

लक्ष्मी न्यौपाने,जुम्ला ।
जुम्लाका चन्दननाथ नगरपालिकाका दुई वटा वडा कुपोषणमुक्त वडाका रुपमा घोषणा हुन थालेका छन । नगरस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको पहिलो चौमासिक वैठक तथा एकीकृत योजना निर्माण कार्यक्रममा चन्दननाथ १ र ८ लाई कुपोषणमुक्त वडा घोषणाको लागि छनौट गर्ने निर्णय भएको हो ।
बैठकले पालिकामा रहेको कुपोषणको अवस्था बारेको तथ्यांक संकलन गर्ने र तथ्यांकका आधारमा पालिकाले पोषणमैत्री बनाउने गरि निर्णय गरेको समितिले जनाएको छ । पोषणमैत्री स्थानीय शासनका ४९ वटा सुचक पुरा हुनुपर्ने,बहुक्षेत्रीय अभ्यासलाई संस्थागत गर्नुपर्ने र पोषणका हरेक चरणहरु पुरा गर्नुपर्नेमा समेत जोड दिइएको छ ।
आठ पटक गर्भजाँच गर्ने,गर्भवती भएको चौथो महिना देखि प्रत्येक दिन आइरन चक्की खाने लगायतका ५ वटा चरण पार अनिवार्य गर्नुपर्ने पनि समितिले जनाएको छ । २०८७ साल सम्म पोषणमैत्री स्थानीयतह घोषणा गर्ने लक्ष्यका साथ वडास्तरबाटै कुपोषणमुक्त वडा घोषणा गर्न थालिएको किडार्क नेपालका कार्यक्रम संयोजक धिरज ढुंगानाले जानकारी दिए ।
वैठकमा नगरपालिकाका विभिन्न शाखा प्रमुखहरु,प्रमुख राजुसिंह कठायत,उपप्रमुख रामुदेवी कठायत र वडाध्यक्षहरुको सहभागिता रहेको पोषण सहजकर्ता भावनाले बताइन् । अहिले चन्दननाथ नगरपालिकामा पोषणका क्रियाकलापहरु धमाधम भइरहेको उनको भनाइ छ ।
नगरप्रमुख राजुसिंह कठायतले कुपोषणको अवस्था अध्ययन गरेर पोषणमैत्री पालिका बनाउन गर्नुपर्ने सबै कामहरु अघि बढाउन तयार रहेको बताए ।

सम्बन्धित शीर्षक